प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार अपरान्ह सरकारको निर्णयबमोजिम सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
सीताको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको थियो ।सीताको पार्थिव शरीरमा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएका थिए । साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित प्रधानमन्त्री प्रचण्डले पत्नी सीतालाई दागबत्ती दिए । ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि प्रचण्डले दागबत्ती दिएका थिए।
सीताको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । सीता पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । सीता माओवादी केन्द्रको सल्लाहकार समेत थिइन् ।

आर्यघाटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, सांसद, सचिव, कु्टनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित थिए ।
यसअघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।































प्रतिक्रिया