काठमाडौं ।
सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी–पहिरोमा परी घाइते हुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नहुने बताएका हुन् ।
सभामुख सापकोटाले उद्धार जारी रहेको र राहत सामग्री वितरण भइरहेको उल्लेख गर्दै बेपत्ताको खोजी र उद्धारमा सरकार प्रभावकारी ढङ्गबाट अगाडि बढ्ने बताए । जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडा लगायतको सामग्री वितरण गरिएको छ ।
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री सालिकराम जम्मकट्टेल र वन, वातावरण तथा पर्यटनमन्त्री सरेश नेपाल लगायतको टोली घटनास्थलमै पुगी उद्धार कार्यमा जुटिरहेका छन् । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।रासस































प्रतिक्रिया