धरहराको १० औँ तल्लाको ढलान पूरा

धरहराको १० औँ तल्लाको ढलान पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भूकम्पले क्षतिग्रस्त धरहराको १० औँ तलासम्मको ढलानको काम पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । बिहिबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै प्राधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीले धरहराको ४० प्रतिशत काम पूरा भएको बताएका हुन् । धरहरा पुननिर्माणको काम लकडाउनका कारण केही समय प्रभावित भएपनि अहिले निरन्तर अगाडि बढेको ज्ञवालीले बताए । कार्यकारी अधिकृत ज्ञवालीले तीन तल्ले पार्किङ स्थलतर्फको काम जारी रहेको जानकारी दिए । निर्माण स्थलभित्र रहेका गोश्वरा हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा र कर्मचारी संचय कोष स्थानान्तरण गरी संचयकोष भवनको केही भाग भत्काउने काम जारी रहेको उनको भनाइ छ । हप्ता दिनपछि धरहरा टावर निर्माणको काम सुरु हुने उनले बताए ।

त्यस्तै बैठकमा ज्ञवालीले सिंहदरबार पुनर्निर्माणको ९८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । मुख्य प्रशासनिक भवनको पूर्व—दक्षिण—उत्तरी भागको प्रवलिकरणको काम सम्पन्न भएको उनले बताए । पश्चिम भागको प्रवलीकरणको काम २५ प्रतिशत सम्पन्न भएको उनको भनाइ छ । ढिलोमा तिहारसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय प्रशासनिक भवनमा सार्ने योजनाका साथ काम भइरहेको ज्ञवालीले समितिलाई जानकारी दिए ।

भूकम्पले क्षति पु¥याएको रानीपोखरीको मन्दिर र सौन्दर्यीकरण बाहेकका पुननिर्माणको काम सम्पन्न भएको छन् । बालगोपालेश्वर मन्दिरको ५० प्रतिशत काम सम्पन्न भएको छ । भूकम्पबाट क्षति भएकामध्ये अहिलेसम्म ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माणको काम सम्पन्न भएको छ । भने २ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेका छन् । घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माणको काम सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छ ।

भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति भएको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोट जिल्लामा ६४ हजार १ सय २४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् । प्राधिकरणले ४ सय २ वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने १ सय १७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाएको छ ।

त्यस्तैगरी छलफलपछि समितिले गुम्बा र अन्य सांस्कृतिक सम्पदाहरुको पुननिर्माणको कामलाई महत्वका साथ अगाडि बढाउन निर्देशन दिएको छ । समिति सभापति कल्याणीकुमारी खड्काले पुनर्निर्माणको क्रममा रहेका गुम्बा र अन्य सांस्कृतिक महत्वका संरचनाहरु व्यवस्थापन गरी द्रुत गतिमा निर्माण कार्य अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिएको बताइन् ।

प्राधिकरणको म्याद आगामी पुसमा सकिंदैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष सयमयावधि थप्न सक्ने प्रावधान छ ।

Skip This
Skip This
Logo