भारतीय सञ्चार माध्यमको रवैयाप्रति नेपाली नेताहरूको आक्रोश

भारतीय सञ्चार माध्यमको रवैयाप्रति नेपाली नेताहरूको आक्रोश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय सञ्चार माध्यमहरूमा नेपाल र यहाँको राजनीतिक अवस्थालाई लिएर सार्वजनिक भइरहेका नकारात्मक टिका टिप्पणीलाई लिएर नेताहरूले चासो देखाएका छन् । विशेष गरि नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका सम्बन्धमा गलत समाचार सम्प्रेषण गर्ने तथा व्यक्तिगत मानहानी हुने गरि ‘अनर्गल’ समाचारहरूलाई लिएर नेताहरूले असन्तुष्टि र आपत्ति जनाएका हुन् । यस सम्बन्धमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले रुष्ट हुँदै ट्विटमा भनेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ।’

प्रवक्ता श्रेष्ठले सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपाली एक ढिक्का रहेको बताउँदै विदेशीको फुटाउ नीति र स्वार्थ पूरा गर्ने नीति सफल हुन नदिने उल्लेख गरेका छन् । आफ्नो देशमा के गर्ने भन्ने हाम्रो कुरा भएकाले हस्तक्षेपकारी नीति मान्य नहुने संकेत नेता श्रेष्ठले दिएका छन् ।

नेकपाकै अर्का नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि भारतीय सञ्चारमाध्यमहरूले देखाएको रवैया अस्वीकार्य भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले भारतीय सञ्चारमाध्यममा देखिने चिन्तनप्रति दुःख व्यक्त गर्दै लेखेका छन् ‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय संचार माध्यममा आईरहेका समाचार तथा टिप्पणी हेर्दा लाग्छ पूर्विय सभ्यताको उपहास भईरहेको छ । उनीहरुले आफैंलाई सरेआम नङ्ग्याइरहेका छन् । दया लाग्छ उनीहरुको चिन्तनप्रति !

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि आन्तरिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कयौं गुनासोहरू रहे पनि बाह्यरुपमा भइरहेको अनर्गल प्रचार मान्न नहुने बताएका छन् । अध्यक्ष थापाले ट्विट गर्दै लेखेका छन्, ‘ विदेश नीति लगायतका थुप्रै विषयमा ओलीसँग असन्तुष्टिहरू भए पनि केही भारतीय सञ्चार माध्यमहरूले जानी बुझी गरिरहेको अनैतिक प्रचारबाजी स्वीकार्य हुने छैन ।’ उनले यस्ता प्रचारबाजीले दुई देशको सम्बन्धलाई पनि फाइदा नपुग्ने उल्लेख गरेका छन् ।

यस्तै सामाजिक सञ्जालमा भारतीय मिडियाले देखाउने हर्कतप्रति नेपाली जनताले पनि बिरोध जनाइ रहेका छन् भने कतिपयले यसको विरोधमा कानुनी उपचारको खोजी गरिनु पर्ने धारणा राखेका छन् ।

भारतीय टीभी च्यानल जी मिडियाले हालै प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्बन्धमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रसारण गरेको थियो । उक्त च्यानलले ‘ओली कि ईश्कीया’ शीर्षकमा प्रसारित रिपोर्टमा चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै उनकै जालमा फसेर ओलीले भारतविरोधी कदम चालिरहेको दाबी गरेको छ । त्यसैगरि अर्को सञ्चार माध्यम टाइम्स अफ इन्डियामा पनि प्रधानमन्त्री ओलीलाई उत्तर तर्फ बस्ने याकसँग तुलना गर्दै नकारात्मक दृष्टिकोणमा प्रस्तुत गरिएको छ । यति मात्र होइन भारतका थुप्रै सञ्चार माध्यमहरूले विभिन्न समयमा नेपालको आन्तरिक विषयलाई लिएर नकारात्मक र दुष्प्रचार गर्ने गरेका छन् ।

Skip This
Skip This
Logo