बंगलादेशबाट जितका साथ फर्किएको महिला फुटबल टोलीमा सुधारको खाँचो

बंगलादेशबाट जितका साथ फर्किएको महिला फुटबल टोलीमा सुधारको खाँचो

केन्द्रबिन्दु
0
Shares

एक खेलमा जित र एकमा बराबरी गरेर बंगलादेशबाट स्वदेश फर्किएको नेपाली महिला टोलीका लागि अझै पनि सुधारको खाँचो औँल्याइएको छ।प्रशिक्षक र खेलाडीहरु प्रदर्शन एवं जितमा सन्तुष्ट रहेपनि आगामी एसियाली खेलकुदका लागि तयारी धेरै राम्रो गर्नुपर्ने बताएका छन्। 

बंगलादेशमा दुई खेलको मैत्रिपूर्ण प्रतिष्पर्धामा एकमा बराबरी र एकमा जित हात पारेको फर्किएको नेपाली टोलीलाई सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरियो। विमानस्थलबाट बाहिरिदा टोलीका मुख्य प्रशिक्षक र खेलाडीहरुले बंगलादेशसँग साफ च्याम्पियनसिपमा पराजय भोग्दा गरेको कमजोरी सुधार गरेपनि एसियाली खेलकुदका लागि टोलीमा सुधार र तयारीको खाँचो रहेको बताएका छन्।

बंगलादेशको राजधानी ढाकामा गत साता सम्पन्न फिफा इन्टरनेशनल उमन्स फुटबल सिरिज २०२३ का दुई खेलमा नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग १-१ को बराबरीमा रोकिदा दोस्रो खेलमा टाइब्रेकरको सहयोगमा ४-२ ले विजयी भएको थियो। टोलीका मुख्य प्रशिक्षक अनन्त थापा नेपाली टोलीमा अझै पनि फिटनेशमा सुधारको खाँचो रहेको बताए।

उनले भने,‘हामी कमजोर तयारी गरेर बंगलादेश पुगेका थियौँ। तर पनि डेढ महिनादेखि क्लोज क्याम्पमा रहेको साफ च्याम्पियन टोली बंगलादेशविरुद्ध नेपालको प्रदर्शन उच्च थियो,एसियन गेम्सका लागि यो महत्वपूर्ण थियो,तर फिटनेशमा सुधार आवश्यक छ,अझ राम्रो एक्सपोजरका लागि नेपाली टोलीलाई थाइल्याण्ड, फिलिपिन्स जस्तो मुलुकसँग खेलाउन आवश्यक छ।’ 

यता टोलीकी कप्तान एवं गोलरक्षक अन्जली तुम्बापोले यो जितले केही हौसला थपे पनि एसियन गेमका लागि पर्याप्त नहुने बताइन्।उनले भनिन् ‘जित्न त जितियो,तर अझै सुधार्न धेरै बाँकी छ। फिटनेस,टिम कम्बाइनेशन धेरै गर्नु छ एसियन गेम्समा धेरै राम्रो टीम आउछन्,त्यही कारण अझै हाइ र्याकिङ टोलीसँग खेल्नु पर्छ,अहिले सबै मोटिभेट भएका छौँ,यस्लाई निरन्तरता दिनुपर्छ।’ 

यता नेपाली टोलीकी गोल मेसिन सावित्रा भण्डारी साम्बाले बंगलादेशको युवा टोली भएको उनीहरुको प्रदर्शन राम्रो रहेको बताइन्। उनले भनिन् ‘पहिला साफमा गरेको मिस्टेकलाई सच्यायौँ, कम मिस्टेकमा जित्न सफल भयौँ,बंगलादेशको टोली ९० मिनेट नथाकी खेल्छ। उनीहरु युवा टोली हुन्। हम्मेसी थाक्दैनन्। यता मैले पाएको केही अवसर गुमाए। तर समग्रमा यसपालिको परफरमेन्स राम्रो रहयो। एसियन खेल्न पाउनु ठूलो कुरा हो। यस्का लागि इन्टरनेशनल एक्सपोजर हुनु पर्यो राम्रो टिमसँग खेले त्यही अुनसारको सुधार हुन्छ।’ 

साम्बाले नेपालमा व्यवसायिक घरेलु लिग र लेडिज टिमको पनि उमेर समूहको खेललाई महत्व दिनु पर्ने बताइन्। नेपाल यस अघि १० महिना पहिले घरमा नै भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो। 

Logo