काठमाडौं ।
तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।
उनीहरुलाई बुधबार साँझ नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई बिदाइ गरेका हुन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले आफ्नो कार्यकालमा सङ्गठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने, सङ्गठनका हरेक सदस्यको सङ्गठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए।
कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनेपक्षित मोड लिन बाध्य भएता पनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिइ सङ्गठनमा प्रहरी कर्मचारीको वृत्तिविकास लगायत विविध सुधारका पक्षलाई गति दिएको उनले उल्लेख गरे।
प्रहरी सेवा नागरिकका लागि हो, तर यसमा दुवै पक्षबीचको परस्पर सहकार्य, सद्भाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै उनले भने, “दिनेले सेवा दिए भन्नु मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ । प्रहरी कर्मचारीमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार हुनु पर्ने प्रशस्त स्थान रहेको छ ।”
समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घसेवा सम्मान प्रदान गरे । साथै उनले सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र सङ्गठनप्रति पुर्याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे।





























प्रतिक्रिया