प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालले विकासको गति तीव्र भएपछि नै मुलुकको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्दै आम नेपालीको मुहारमा खुसी ल्याउन वर्तमान सरकार लागि परेको बताएका हुन् ।
उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको उल्लेख गरे । “सरकारको यस अभियानमा जनसमुदायले देखाउनुभएको अपार समर्थन र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दछु”, उनले भने ।
आन्तरिक स्रोत साधन कम भएको नेपाल विकास बजेट चालु खर्चको तुलनामा न्यून रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले न्यून बजेट पनि समयमा खर्च गर्न नसक्नु विडम्बना रहेको बताए । विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुने गरेको यथार्थ स्वीकार गर्दै उनले असारमा गरिएका विकास र निर्माण गरिएका पूर्वाधारमा मनसुनको बाढी र पहिराले क्षति पु-याउने बताए ।
विकास र पूर्वाधार बिना आर्थिक उन्नति सम्भव नरहेको जनाउँदै उनले विकासका लागि सरकार, निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताए । “विकासका लागि सरकारसँग स्रोत कम छ । त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ । पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस्, राजस्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस्”, उनले भने ।





























प्रतिक्रिया