सुन तस्करी प्रकरणः भन्सार जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गरिने

सुन तस्करी प्रकरणः भन्सार जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गरिने

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार हङकङबाट ल्याइएको करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको छ । 

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बनको तयारी गरिएको हो । साथै जाँचपासमा संलग्नबाहेक आवश्यकताअनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छानबिन गरिने बताइएको छ ।  

क्याथे फ्यासिफिकको उडानमार्फत मंगलबार हङकङबाट स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’मा लुकाएर ल्याइएको करिब एक क्विन्टल सुन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइए पछि बरामद भएको थियो । राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको हो ।

भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिएको थियो । तर, उक्त जाँचपास शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर बा. २ ज २३२४ नम्बरको ट्याक्सीबाट बाहिरिएकालाई सिनामंगलमा समातिएका हुन् । उक्त तस्करी प्रकरणमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा पक्राउ गरिएको छ । अन्य २ जनाको नाम भने खुलाइएको छैन ।

Logo