उत्तर कोरियाविरूद्ध अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन हुने

उत्तर कोरियाविरूद्ध अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन हुने

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ ।

उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली  राष्ट्रपतिको कार्यालयले जनाएको छ । “कोरिया,अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन यही अगस्टमा संयुक्त राज्य अमेरिकामा हुने कार्यक्रम छ, सम्मेलनको मिति र स्थान पछि घोषणा गरिनेछ,”  राष्ट्रपति कार्यालयले बिहीबार भनेको छ । 

सोल र वासिङ्गटनले दक्षिण कोरियाको राजधानीमा पहिलो आणविक परामर्शदात्री समूहको बैठक गरेको केही दिनपछि यो घोषणा भएको हो । प्योङयाङ र सोलबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने कूटनीतिक संवाद अवरुद्ध भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक लगायत सामरिक हतियार विकासको लागि आह्वान गरेका छन् । 

छिमेकीको उक्त आह्वानको जवाफमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले लामो समयदेखिको आफ्नो सहयोगी वासिङ्गटनसँगको निकटता बढाएका छन् । उत्तर कोरियालाई नियन्त्रणमा राख्ने प्रयासमा पूर्व औपनिवेशिक शक्ति जापानसँग पुराना मतभेद बिर्सेर नयाँ सम्बन्ध कायम गर्ने प्रयास गरेका छन् । 

यदि प्योङयाङले आफ्नो आणविक हतियार आफ्ना सहयोगीविरुद्ध प्रयोग गरेमा आणविक हतियारले नै जवाफ दिएर उसको शासन नै अन्त्य गर्ने चेतावनी गत अप्रिलमा सोल र वासिङगटनले दिएका थिए । 

योनहाप समाचार समाचार समितिले अज्ञात स्रोतलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारमा उक्त सम्मेलन वासिङ्गटन नजिकैको क्याम्प डेभिडमा अगस्ट १८ मा हुने जनाइएको छ । गत मङ्गलबार आणविक हतियारयुक्त एक अमेरिकी पनडुब्बी बुसानको बन्दरगाहतर्फ गएको थियो । सन् १९८१ पछि पहिलोपटक अमेरिकी पनडुब्बी बुसान बन्दरगाहतिर गएको हो । 

प्योङयाङले गत साता  लामो दूरीको अन्तरमहाद्विपीय क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो । ठोस इन्धनबाट सञ्चालन हुने लामो दूरीको उक्त क्षेप्यास्त्र अमेरिकासम्म प्रहार गर्ने क्षमताको भएको बताइएको छ । -एएफपी 

Logo