नेकपा विवाद, यस्ता छन् ओली–दाहालबीच छलफल भइरहेका चार विकल्प

नेकपा विवाद, यस्ता छन् ओली–दाहालबीच छलफल भइरहेका चार विकल्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपाको विवाद करिब फुटको दिशामा अघि बढेपछि गत शनिबारबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सघन वार्ता चलिरहेको छ । प्रारम्भमा २–२ जना सहयोगी राखेर सुरु भएको छलफल पछि ‘वान टु वान’ मा बदलिएको छ । सहयोगी विनै छलफल गरिरहेका उनीबीच विवाद नचर्काउने भन्ने समझदारीमा त पुगेको छ तर विवादको मुल चुरोेमा भने कुनै ठोस प्रगति हुन सकेको छैन । ठोस प्रगति हुन नसक्दा पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक बुधबार पनि रोकिएको छ ।

तीन दिन यता लगातार दुई घण्टाभन्दा बढी छलफल गर्दै आएका ओली र दाहालबीच कुराकानी चाँही के विषयमा भइरहेको छ ? कस्ता कस्ता मोडलमा उनीहरु समझदारी निर्माणको पहल भइरहेको छ ? यी विषय औपचारिक रुपमा बाहिर त आएका छैनन् । तर उनीहरु निकट नेताहरुकाअनुसार सहमति खोज्नका लागि केही विकल्पहरुमा कुराकानी भइरहेको छ । जुन विकल्पमा एकले अर्कालाई गलाउने रणनीतिक ओली र दाहाल दुबै पक्षले लिएका छन् । कस्ता छन् त छलफलमा उठिरहेका विकल्पहरु ?

१. प्रधानमन्त्री ओलीले राजीनामा दिने
सबैभन्दा बढी यही विकल्पमा छलफल भइरहेको छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने यो विकल्प अध्यक्ष दाहालबाट आएको हो । वरिष्ठ नेता माधव नेपाल सहितको सहमतिमा अध्यक्ष दाहालले सुरु देखि नै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । प्रचण्डको सरकारले राम्ररी काम गर्न नसकेको र पार्टीसँगको सरकारको सम्बन्ध पनि सुमधुर हुन नसकेको भन्ने तर्क छ । प्रधानमन्त्रीको रुपमा ओलीले गरेका कामप्रति नेकपाको ठूलो पंक्ति खुसी छैन । सचिवालय र स्थायी कमिटिका धेरै नेताहरु त्यस्ता कामको समीक्षा गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्ने धारणा राख्छन् । त्यसैले राजीनामाका लागि ओलीमाथि दाहालले दबाब बढाएका हुन् । तर ओली प्रधानमन्त्रीको पद छोड्ने पक्षमा छैनन् । मंगलबारको बैठकमा ओलीले दाहालाई स्पष्ट भनेका छन्–‘राजीनामाको कुरै नगरौँ । अरु विकल्प छन भने सहमती हुन सक्छ ।’

२.दाहाल एकल कार्यकारी अध्यक्ष बन्ने
ओली दाहालबीचको छलफलमा अहिले उठिरहेको अर्को विकल्प हो, दाहाल पार्टीको एकल कार्यकारी अध्यक्ष बन्ने । यो विकल्प विशेष गरी ओलीबाट आएको हो । प्रधानमन्त्री पद नछाड्ने तर परि आएको खण्डमा आफू अध्यक्ष पद छोड्न तयार रहेको ओलीले दाहाललाई भनेका छन् । यसअघि गत मंसिरमा पनि ओलीले दाहाललाई कार्यकारी अध्यक्ष दिने सहमति गरेका थिए । त्यसपछि कार्यकारी अध्यक्षको काम र जिम्मेवारी ओलीले दाहाललाई हस्तान्तरणमा कन्जुस्याईँ गरेका थिए । त्यही कारण अहिले नेकपाभित्रको विवाद चर्किने अवस्था बनेको हो । ओली पक्षले यो कुरा अहिले राम्ररी बुझेको छ । त्यसैले दाहाललाई पार्टीको अध्यक्ष बन्ने प्रस्ताव ओली पक्षले गरेको छ । आफू प्रधानमन्त्री बनिरहदा शक्ति रहीरहने र पार्टीभित्र त्यही बलमा आफ्नो पकड जमाइ राख्न सकिने ओली पक्षको सोच छ ।

३. सरकार सञ्चालन संयन्त्र निर्माण
सरकार र पार्टीबीच समन्वय गर्नका लागि एउटा ‘संयन्त्र’ बनाउने विकल्प पनि छलफलमा चलिरहेको छ । पार्टी र सरकारबीचको समन्वय नहुदा काम नभएको भन्ने बुझाई आम नेता र कार्यकर्तामा परेको छ । त्यसैले अब सरकार र पार्टीबीचको समन्वय गर्ने संयन्त्र आवश्यक भएको कुरा नेताहरुले गरेका छन् । यस्तो संयन्त्रमा जो प्रधानमन्त्री सहित सचिवालयमा रहेका पा“च जना शीर्ष नेताहरु, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम हुने विकल्पमा कुरा भइरहेको छ । यस्तो संयन्त्र बने सरकारलाई संयन्त्रले सुझाव दिने र कुनै नियुक्ति र निर्णयहरु त्यसको परामर्शमा गर्ने खालको बनाउने बारे पनि कुरा भइरहेको छ । यस्तो संयन्त्र बने पार्टी र सरकारबीचको अहिलेको जस्तो असमझदारी नआउने नेताहरुको बुझाई छ । अहिले सरकारले गरेका कामहरबारे नेताहरुले नै थाहा नपाउने परिस्थिति बन्दा सरकारले गरेका राम्रा कामको पनि उनीहरुले बचाउ गर्न सकेका छैनन् । पटक पटक प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको पार्टीबाट प्रचार प्रसार हुन नसकेको दुखेसो गर्दै आएका छन् । यस्तो खालको दूरी घटाउनका लागि संयन्त्र बनाउने विकल्प आवश्क रहेको नेताहरुको बुझाइ छ ।

४. प्रधानमन्त्री ओलीको राजीनामा केही समय सार्ने, त्यसपछि नयाँ  प्रधानमन्त्री बन्ने
दुई अध्यक्ष आ–आफ्ना अडानमा रहेका बेला एउटा अर्को साइडलाइन छलफल पनि चलिहरेको छ । त्यो भने राजीनामाको अवधिक केही समय पर धकेल्ने रहेको छ । अहिले तत्काल राजीनामा दिइहाल्दा भारतले नै हटाएको भन्ने सन्देश जान सक्ने भएकाले ओलीलाई सच्चाउदै बरु केही महिनापछि राजीनामा दिने प्रतिबद्धता गर्न लगाउनेबारे पनि दोस्रो तहका नेताहरुले छलफल गरिरहेका छन् । तत्काल राजीनामा दिन नपर्ने र निश्चित समय पछि चाँहि छोड्नुपर्ने खालको सर्तमा ओलीलाई मनाउनु पर्ने उनीहरुको तर्क छ । यसअघि पार्टी एकिकरण भएका बेला पनि दुई अध्यक्षबीच निश्चित अवधिमा सरकार आलोपालो गर्ने भन्ने सहमति गरिएको थियो । करिब त्यस्तै खालको सहमति अब पनि गरेर अगाडि बढ्न सकिने भन्दै केही नेताहरुले यस्तो विकल्पबारे चर्चा थालेका छन् । यी विकल्पहरुमाथि पनि ओली र दाहालबीच छलफल चलिरहेको स्रोतको दाबी छ । अब जसरी भए पनि एउटा सहमतिमा पुग्नुपर्ने र पार्टी एकता जोगाउनु पर्ने भएकाले कुनै न कुनै विकल्पमा सहमति खोज्नु पर्ने नेताहरुको भनाइ छ । २६ गते बस्ने भनिएको स्थायी कमिटिको बैठकले पनि कुन चाँही विकल्पमा जाँदा दुबै पक्षलाई सहज र जितको अनुभूति हुनसक्छ त्यही विकल्प रोज्न सक्छ ।

Logo