‘सङ्कट समाधानमा सरकार गम्भीर भएन’ : महामन्त्री डा. कोइराला

‘सङ्कट समाधानमा सरकार गम्भीर भएन’ : महामन्त्री डा. कोइराला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले मंगलबार आयोजना गरेको विपीको प्रजातान्त्रिक समाजवाद र पार्टीको आगामी महाधिवेशन विषयक कार्यक्रममा उनले सरकारले रेल र पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाए पनि सङ्कटका बेलामा जनतालाई बचाउने भन्दा कुर्सी जोगाउन लागेको आरोप लगाए।

महामन्त्री कोइरालाले काँग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताउँदै गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको उल्लेख गरे । काँग्रेसको सङ्गठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि पार्टीको १४ औँ महाधिवेशन आवश्यक भएको बताउँदै उनले महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको अवगत गराए ।

उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको पार्टीको साङ्गठनिक समायोजनको काम, क्रियाशील सदस्यता वितरण र नवीकरण सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताउँदै आगामी महाधिवेशनले काँग्रेसमा नयाँ सन्देश र नयाँ ऊर्जा थप्ने बताए।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा विपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादलाई समेटिएको बताए । काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशी, पूर्वसांसद किरण यादव, नेपाल विद्यार्थी सङ्घका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं, पूर्वमहामन्त्रीद्वय मनोजमणि आचार्य र प्रतिमा गौतम लगायतले विपीको प्रजातान्त्रिक समाजवाद र काँग्रेसको आगामी महाधिवेशनका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।

Skip This
Skip This
Logo