काँग्रेसले खाँणलाई निलम्बन नगर्ने, महामन्त्री थापाले फरक मत लेख्दै

काँग्रेसले खाँणलाई निलम्बन नगर्ने, महामन्त्री थापाले फरक मत लेख्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन नगर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आज काँग्रेसले निर्णय सुनाउँदैछ। पार्टीले लिने निर्णयका विषयमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा काँग्रेसले खाँणलाई निलम्बन नगर्ने निष्कर्ष निकालेको हो। 

त्यसप्रति महामन्त्री गगनकुमार थापाले असन्तुष्टि जनाएका छन्। थापाले त्यसमा आफ्नो फरकमत रहने जनाउँदै पार्टीका कुनै सदस्यले फरकमत लेख्न चाहे दिनुपर्ने प्रस्ताव गरेका छन्। त्यस विषयमा काँग्रेस पदाधिकारी बैठक सहमतिमा पुगिसकेको छैन।

दिउँसो ४ बजेका लागि केन्द्रीय कार्यालयमा बोलाइएको बैठकमा त्यसअघि सभापति शेरबहादुर देउवासहितका नेताहरू फेरि छलफलमा जुट्ने छन्। त्यसपछि मात्र केन्द्रीय समितिको बैठक सुरु हुने नेताहरूले जनाएका छन्। 

काँग्रेसको जारी केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति र स्थान तय गर्नेछ । साथै, केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिका तर्फबाट महामन्त्री थापाले पेस गरेको प्रस्तावलाई संशोधनसहित पारित गर्ने भएको छ । 

बैठकले जनजीविका सवालमा पार्टीसमेत सहभागि सरकारलाई केही मार्ग निर्देश गर्ने छ। पार्टीका सबै निकायलाई पूर्णता दिने तथा भ्रातृ संगठनका केन्द्रीय समिति गठनका विषयमा पनि बैठकले निर्णय गर्ने छ।  साथै, गतवर्ष भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध खडा भएका नेता तथा कार्यकर्तालाई काँग्रेसले आम माफी नदिने भएको छ।

तर,तल्लो तहको सिफारिसका आधारमा कारवाही प्रक्रियामा लचकता अपनाउने काँग्रेसले निर्णय गर्ने भएको छ।आज बस्ने बैठकले पार्टीको निर्णय गर्दै एक वर्षपछि बसेको काँग्रेस केन्द्रीय समिति सकिने छ। 
 

Logo