नयाँदिल्ली। नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि क्रकोच जनता पार्टी (सीजेपी) ले यसलाई आफ्नो आन्दोलनको सफलता भएको दाबी गरेको छ।
मन्त्री प्रधानको राजीनामापछि सीजेपीले सार्वजनिक गरेको आधिकारिक धारणा सार्वजनिक गर्दै ३६ दिनदेखि जारी विरोध प्रदर्शनले लक्ष्य हासिल गरेको जनाएको हो।
सीजेपीले ३६ दिनदेखि नयाँ दिल्लीस्थित जन्तरमन्तरमा शिक्षा मन्त्री प्रधानको राजीनामालाई मुख्य माग बनाएर निरन्तर आन्दोलन गर्दै आएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीले मन्त्रीको राजीनामाबाहेक अन्य कुनै पनि विकल्प स्वीकार नगर्ने अडान राख्दै आएका थिए।
आन्दोलनलाई थप प्रभावकारी बनाउन सामाजिक अभियन्ता सोनम वाङ्गचुकले समेत ऐक्यबद्धता जनाएका थिए। उनको समर्थनपछि आन्दोलनकारी थप उत्साहित बनेका थिए भने सरकारमाथि दबाब बढेको सीजेपीको भनाइ छ।
लामो समयसम्म चलेको प्रदर्शन र अनशनपछि मन्त्री प्रधानले पदबाट राजीनामा दिएको सीजेपीले जनाएको छ। पार्टीले सरकारसामु निरन्तर दबाब सिर्जना गर्दै लोकतान्त्रिक ढङ्गबाट गरिएको संघर्षले अन्ततः परिणाम दिएको दाबी गरेको छ।
मन्त्रीको राजीनामापछि सीजेपीले आगामी दिनमा पनि जनसरोकारका विषयमा आवाज उठाइरहने बताएको छ। पार्टीले आफ्नो वक्तव्यमा सरकारसामु नझुकी निरन्तर संघर्ष गरे सफलता हासिल गर्न सकिने उल्लेख गर्दै भनेको छ, ‘झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ।’




















