कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरिक्षण गरेका छन् । उनले अस्पताल निरीक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रभावबारे अस्पतालका विभिन्न विभागमा पुगेर जानकारी लिएका हुन् ।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले सेवाग्राही तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीसँग पनि छलफल गरे । उनीसँगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहित उच्च सैनिक अधिकारी पनि सहभागी भएका थिए ।
अस्पताल निरीक्षणका क्रममा उनले सीमित स्रोत साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषजनक सेवा प्रभाव भइरहेको भन्दै खुसी ब्यक्त गरे । उनले अस्पतालबाट एकीकृतरुपमा अझ बढी गुणस्तरीय सेवा दिन पनि आग्रह गरे ।
रक्षामन्त्री खड्काले अस्पतालमा कार्यरत चिकित्सक, नर्सदेखि सबै कर्मचारीहरुले सेवा भावका साथ काम गरिरहनु भएको कुरालाई सरकारले उच्चसम्मानका साथ हरिरहेको भन्दै अस्पतालको नयाँ भौतिक संरचना निर्माण, स्वास्थ्यकर्मीदेखि कर्मचारीको समग्र वृति विकासमा पनि सरकारले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहे जति सहयोग गर्न सक्ने अवस्था नभएपनि प्रथमिकताका आधारमा अस्पताललाई अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरीय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी पनि दिए ।
अस्पतालबाट अझै राम्रो स्वास्थ्य सेवा दिनका लागि सरकार र मन्त्रालयबाट कुनै नीतिगत सुधारको काम गर्नुपर्ने भए सरकार त्यसमा पनि सकारात्मक भएको रक्षामन्त्री खड्काको भनाइ छ । उनले त्यसका लागि प्रथमिकता निर्धारण गरेर काम गर्नुपर्नेमा जोड दिए ।































प्रतिक्रिया