युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार ‘एजिङ नेपाल’ लाई

युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार ‘एजिङ नेपाल’ लाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने ‘एजिङ नेपाल’ संस्थाले प्राप्त गरेको युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई हस्तान्तरण गरेका हुन् । युनेस्को काठमाडौँका प्रमुख क्रिष्टिने म्यानहर्टले पुरस्कारको प्रमाणपत्र प्रदान गरे ।

संस्था २० हजार अमेरिकी डलर (करीब रु २३ लाख ३२ हजार) राशिको अन्तर्राष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्न सफल भएको छ । कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त संस्थाले प्राप्त गरेको पुरस्कारबाट नेपालको नाम विश्वभर थप चिनिएको बताउँदै बधाई दिए । उनले नयाँ ढङ्गबाट ज्येष्ठ नागरिकको शिक्षाका लागि के गर्न सकिन्छ भन्नेबारेमा विज्ञको सुझावका आधारमा कार्यक्रम तय गरिने बताए ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विश्वभरका ७६ संस्थाको प्रतिस्पर्धामा श्रेष्ठ भई एजिङ नेपालले पुरस्कार पाउनु मुलुकका लागि गौरवको विषय भएको बताए । सम्मानित व्यक्तित्व गौतमले ज्येष्ठ नागरिकका आधुनिक सूचना प्रविधिसमेतको उपयोग गर्नसक्ने गरी साक्षरता दिने नीतिगत व्यवस्थाका लागि आग्रह गरे ।

मन्त्रालयअन्तर्गत रहेको युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले ‘युनेस्को किङ सिजोङ साक्षरता पुरस्कार २०२०’ नामको सो पुरस्कार गत अन्तर्राष्ट्रिय साक्षरता दिवसमा युनेस्को मुख्यालय, पेरिसले भर्चुअलरुपमा घोषणा गरी पुरस्कार राशि २० हजार अमेरिकी डलर पठाइसकेको जानकारी दिए । रासस

Skip This
Skip This
Logo