काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद यतिबेला बढेको छ । पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली गुट र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपाल पक्षको गुट सक्रिय हुँदा विवाद बढेको हो । नेकपाको स्थायी कमिटीको गत असार १० देखि बैठक जारी छ । जारी बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर प्रधानमन्त्री ओलीले गत शुक्रबार अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा आफूले दुबै पद नछाड्ने बताएका थिए । साथै उनले आफूलाई पार्टीबाट कारवाही गरेर हटाउन चेतावनी समेत दिएका थिए ।
पार्टीले आफूलाई कारवाही गरे अर्को पार्टी गठन गर्ने बताएका थिए । पार्टीभित्र यतिवेला स्थायी कमिटीका सदस्यहरु पनि बाँडिएका छन् । दुई पक्षका आ–आफ्नै अडानका कारण २०७५ साल जेठ २ मा पार्टी एकताको घोषणा गरिएको नेकपा अब फुट्को संघारमा पुगेको अड्कलबाजी गरिएको छ । एक पक्षले अर्कोपक्षलाई भित्तामा पुर्याउने व्यवहारका कारण पार्टी फुट्दैन भन्ने पनि बलियो आधार छैन ।
तर स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सरकारलाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय कुनै व्यक्तिले नभइ सिंगो पार्टीले गर्ने बताएका छन् । मंगलबार केन्द्रबिन्दुसँग विशेष अन्तवार्ता दिँदै उनले सो कुरा बताएका हुन् । पार्टी र सरकारले गरेका काम कारवाहीमा व्यापक असन्तुष्टि रहे पनि पार्टीको जारी बैठकबाटै समाधान खोजिने नेता रायमाझीको भनाइ छ । ठूलो पार्टीमा स–साना समस्या देखिनै रहेने उनले बताए । नेता रायमाझीले नेकपा कुनै पनि हालतमा नफुट्ने बताएका छन् । पार्टीभित्र देखिएको विवाद सामान्य भएकाले विचार र विमर्शका माध्यमबाट समाधान गरिने उनको भनाइ छ । पार्टीभित्र दोस्रो पुस्ताका नेताहरु अझै जीवित रहेकाले कुनै पनि हालतमा नेकपा फुट्न नदिने नेता रायमाझीको दाबी छ । नेता रायमाझीले पार्टीभित्र प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पारेर घेरबन्दी गरिएकाले संसदको चालू अधिवेशन अन्त्य गरी ओलीले काउण्टर जवाफ दिएको बताए ।
त्यस्तै स्थायी कमिटीका सदस्य डा. भीम रावलले प्रधानमन्त्री ओली सत्ता जोगाउन राष्ट्रवादी बनेको आरोप लगाएका छन् । केन्द्रबिन्दुसँग विशेष अन्तवार्ता दिँदै उनले यतिबेला ओलीको कार्यशैलीका कारण सत्ता संकटमा परेकाले सत्ता जोगाउन विभिन्न राष्ट्रवादी अभिव्यक्ति दिएको दाबी गरे । प्रधानमन्त्री ओलीको कार्यशैलीबाट रुष्ट भएका नेताले राजीनामा मागेकाले नयाँ नक्सा जारी गरेको निहुमा आफूलाई हटाउने चलखेल सुरु भयो भन्नु नितान्त गलत भएको उनले बताए । पार्टीले नयाँ नक्सा ल्याएको निहुमा नभइ कार्यशैलीका कारण गत माघदेखि नै राजीनामा मागेको उनको दाबी छ । पार्टीको मागलाई वेवास्ता गर्दै अगाडि बढेकाले फेरि राजीनामा माग गरिएको रावलको भनाइ छ ।































प्रतिक्रिया