जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु

जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

यतितिबेला विश्वका अधिकांश देशले मौसमको सामना गरिरहेका छन्। कतिपय ठाउँमा भारी वर्षाले विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीका कारण मानिसको ज्यान गएको छ।

यस सन्दर्भमा दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा १३ वर्षीया बालिकाको गर्मीमा मृत्यु भएको छ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले यो साता चर्को गर्मीका कारण ज्यान गुमाउनेमा ७० वर्षभन्दा माथिका पाँच जना किसान रहेको जनाएको छ। यसअघि गर्मीका कारण सात जनाको मृत्यु भइसकेको छ।

पछिल्लो अवस्थालाई ध्यानमा राख्दै मंगलबार देशका अधिकांश भागमा गर्मीको लहरको चेतावनी जारी गरिएको थियो। समाचार अनुसार जुलाई महिनामा तापक्रम ४० डिग्री पुगेपछि मानिसहरु निकै चिन्तित भएका थिए।

यस्तै मौसम जापानमा पनि छ। जसका कारण शुक्रबार १३ वर्षीया बालिकाको मृत्यु भएको थियो। मैनीचीको रिपोर्टका अनुसार उनी साइकलमा स्कूलबाट घर जाँदै थिइन्। त्यसपछि उनी बेहोस भइन् र फुटपाथमा लडेकी थिइन्।

हतारमा उनलाई अस्पताल लगियो,जहाँ उनको मृत्यु भयो। बालिकाको मृत्युपछि अधिकारीहरूले उनको मृत्यु हीटस्ट्रोकका कारण भएको दाबी गरेका थिए। योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनको मृत्यु हीटस्ट्रोकबाट भएको प्रहरीले अनुमान गरेको छ। उल्लेखनीय कुरा के छ भने जापान सरकारले सन् २०३० सम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या आधा गर्ने लक्ष्य राखेको छ।

Logo