लालबहादुर विक रिहा

लालबहादुर विक रिहा

केन्द्रबिन्दु
0
Shares

ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले अदालतबाट सफाइ पाएसँगै बुधबार कारागारमुक्त भएका छन् । 

मंगलबार उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुरलाई न्याय दिएको थियो । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले उनलाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो।

उच्च अदालतले आदेशको पत्र कारागारमा पठाएपछि बुधबार उनी रिहा भएका हुन् । उनको कारागारबाट बाहिर निस्कँदा भव्य स्वागत भएको थियो । 

२०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले २०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए। एक दिनपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्सविरुद्ध अर्को मुद्दा दर्ता भएको थियो। अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा सिंहदेवी ज्वेलर्सविरुद्ध परेको थियो।

मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो। उक्त मुद्दामा २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिवाना र तीन वर्ष जेल सजाय सुनाइएको  थियो।

Logo