निरन्तर संसद अवराेध भएपछि सभामुखले बोलाए शिर्ष दलको बैठक

निरन्तर संसद अवराेध भएपछि सभामुखले बोलाए शिर्ष दलको बैठक

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले शिर्ष दलको बैठक बोलाएका छन्। निरन्तर संसदमा अवरोध हुन थालेको तथा ८ महिनासम्म संसदीय समितिको सभापति चयन गर्न नसकिरहेको बेला सभामुख घिमिरेले शिर्ष दलका शिर्ष नेतासँग बैठक बोलाएका हुन्। 

सभामुखको सचिवालयका अनुसार सो बैठक आज दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ। सभामुख घिमिरेले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुनका लागि अनुरोध गरेका छन्।

गत साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो।

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई/दुईपटक टेलिफोन संवाद गरेर अवरोध खुलाउन अनुरोध गरेका थिए भने प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन्।

आइतबार पनि सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिएपछि शिर्ष नेताको बैठक बोलाइएको हो।

Logo