धनगढी । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी २४औँ सत्याग्रहका लागि कैलालीको धनगढी पुगेका छन् । उनी धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित श्रीकृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा बसेर बिहीबारदेखि सरकारसमक्ष पाँचबुँदे माग राख्दै अनशन सुरु गर्ने भएका हुन् ।
दार्चुलाबाट जारी गरिएको प्रेस विज्ञप्तिमा डा. केसीले सरकारले आफूले उठाएका मागप्रति संवेदनशीलता नदेखाएको तथा साउन ५ गतेसम्म दिएको समयसीमासमेत बेवास्ता गरेपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको बताएका छन् । उनले आन्दोलनबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा गैरनाफामूलक सार्वजनिक सेवा हुनुपर्ने उल्लेख गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ ।
साथै मापदण्डविपरीत निजी मेडिकल कलेजमा सशुल्क सिट वृद्धि, छात्रवृत्ति कटौती तथा स्वार्थ बाझिने व्यक्तिलाई चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको नेतृत्वमा नियुक्त गर्ने प्रयासको विरोध गरिएको छ ।
डा. केसीले गेटास्थित शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा गरिएको नियुक्तिप्रति पनि आपत्ति जनाएका छन् । विश्वविद्यालयलाई राजनीतिक र व्यापारिक स्वार्थको केन्द्र बनाउन खोजिएको आरोप लगाउँदै विवादित नियुक्ति तत्काल बदर गर्नुपर्ने उनको माग छ ।
यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू विश्वविद्यालय सञ्चालनको विरोधमा नभई यसको शीघ्र सञ्चालन र सुदृढीकरणको पक्षमा रहेको बताएका थिए । ‘मैले विश्वविद्यालयलाई असफल बनाउन लागेको होइन। यसलाई छिट्टै सञ्चालन गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा हो। माफियासँग जोडिएका व्यक्तिलाई उपकुलपति, रजिस्ट्रार वा अन्य जिम्मेवार पदमा नियुक्त गर्नु हुँदैन, ’ उनले बताएका थिए ।
डा. केसीले सरकारसमक्ष पाँचबुँदे माग अघि सारेका छन् । उनका मागमा दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका विवादित तथा स्वार्थपरक नियुक्ति बदर गर्ने, निजी मेडिकल कलेजमा सिट वृद्धि र छात्रवृत्ति कटौतीसम्बन्धी निर्णय खारेज गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन गर्ने, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार गर्ने तथा हत्या, आगजनी, लुटपाट र भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने विषय समावेश छन् ।
डा. केसीले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र चिकित्सा शिक्षा सुधारका विषयमा सरकार उदासीन बनेको आरोप लगाउँदै आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।


















