सामुदायिक विद्यालयबाटै सरकारले असुल्छ १० थरी शुल्क

सामुदायिक विद्यालयबाटै सरकारले असुल्छ १० थरी शुल्क

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सरकारले संविधान र ऐनविपरीत विद्यालय तहका विद्यार्थीबाट दर्जनभन्दा बढी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा ९ देखि १२ सम्म पुग्दा विभिन्न शीर्षकमा राज्यलाई ५ हजार रुपैयाँभन्दा बढी शुल्क बुझाउनुपर्ने बाध्यता छ।

कक्षा ९ देखि १२ सम्म हरेक कक्षामा वार्षिक ४ देखि ६ लाखसम्म विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेसन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्कबापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट साढे २ अर्ब रुपैयाँभन्दा बढी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निःशुल्क शिक्षासम्बन्धी संवैधानिक व्यवस्थाविपरीत हो।

संविधानको धारा ३१ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह (कक्षा ८) सम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भन्ने लेखिएको छ। उक्त संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र नियमावली, २०७७ समेत जारी भएको छ। तर विद्यार्थीबाट शुल्क उठाउन रोकिएको छैन।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा ९ मा पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले ३ सय रुपैयाँका दरले रजिस्ट्रेसन शुल्क उठाउँछ। तिनै विद्यार्थी कक्षा १० मा पुगेपछि ५ सयको दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्।

बोर्डका सूचना अधिकारी नारायण पोख्रेलका अनुसार कक्षा ११ मा विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट ४ सय रुपैयाँका दरले शुल्क लिइन्छ। कक्षा ११ मा हरेक वर्ष ४ लाख हाराहारीमा विद्यार्थी भर्ना हुने गरेको तथ्यांक छ। कक्षा ९, १० र ११ मा शुल्क बुझाएका विद्यार्थीसँग कक्षा १२ मा पुनः परीक्षा आवेदन शुल्कबापत ८ सयका दरले बोर्डले रकम उठाउँछ।

परीक्षा उत्तीर्ण भएपछि कक्षा १० र कक्षा १२ को शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क असुल्छ। सरकार नै विद्यार्थीको रजिस्ट्रेसन, विषय दर्ता, परीक्षा आवेदन, प्रमाणपत्र शुल्क उठाएर बुझाउन ताकेता गर्दै आएको काठमाडौंस्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले बताए। ‘संविधान र कानुनबमोजिम शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै पनि शुल्क लिन रोक लगाउनुपर्ने हो तर मन्त्रालय मातहतका परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले शुल्क लिन भन्छन्,’ उनले भने।

शैक्षिक प्रमाणपत्र लिन र सच्याउन बोर्डको केन्द्रीय र प्रादेशिक कार्यालयहरूमा दिनदिनै विद्यार्थीको लाइन देखिन्छ। त्यसका लागि कतिपय शुल्क विद्यालयले नै विद्यार्थीबाट उठाएर बोर्डमा पठाउँछन्। यसपालि सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेकी छात्रा स्नेहा रूपाखेतीले १५ सय शुल्क बुझाएर ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल प्रमाणपत्र लिएको बताइन्।

एसईईको उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गर्न २/२ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ। एसईईका प्रमाणपत्रमा नाम, थर, जन्म मिति र अंग्रेजी जन्म मिति कायम गर्न २ सय ५० देखि ५ सय रुपैयाँ शुल्क तोकिएको छ। कक्षा १० को हकमा ग्रेडसिट, मूल प्रमाणपत्र, माइग्रेसन, सक्कल प्रमाणपत्र सत्यापन, प्रतिलिपि सत्यापन, हराएको प्रमाणपत्र प्रतिलिपि लिनका लागि प्रतिप्रमाणपत्र ५ सय शुल्क लाग्ने व्यवस्था छ। उक्त रकम सिधै सरकारको राजस्व खातामा जम्मा हुने विद्यालयका कर्मचारीहरू बताउँछन्। प्रमाणपत्र एकीकृत गर्न ५ सय शुल्क तोकिएको छ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले बोर्डले निर्णय गरेर विगतदेखि शुल्क लिइँदै आएको बताए। ‘कक्षा ११–१२ का विद्यार्थीबाट उठाएको रकम सिधै बोर्डको खातामा जम्मा हुन्छ। बोर्डको कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन, परीक्षा सञ्चालन, नतिजा प्रकाशनलगायत सबै काम त्यही रकमबाट हुन्छ। सरकारले छुट्टै बजेट दिँदैन,’ उनले भने, ‘कक्षा ९–१२ बाट उठाएको विद्यार्थीको रकम भने सरकारको राजस्व खातामा जम्मा हुन्छ।’

कक्षा ९ मा रजिस्ट्रेसन शुल्कबापत मात्रै सरकारले १८ करोड राजस्व उठाउने गरेको छ। तिनै विद्यार्थी कक्षा १० पुगेपछि परीक्षा आवेदन शुल्कबापत २५ करोड संकलन गरिन्छ । वर्षभरिमा परीक्षा नियन्त्रण कार्यालयले मात्रै ६० करोड हाराहारीमा राजस्व उठाउने गरेको छ। एसईईमा ३५ करोड जति रकम जम्मा हुने र बाँकी रकम अर्थ मन्त्रालयको राजस्व खातामा जम्मा हुने कर्मचारीहरू बताउँछन्।

शुल्क उठाएको विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न गर्दै आएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८१ मा पनि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था भए पनि बोर्डले माध्यमिक तहका विद्यार्थीबाट रजिस्ट्रेसन, परीक्षा, प्रमाणपत्रलगायतका शीर्षकमा शुल्क संकलन गरेको उल्लेख छ। देशभर २७ हजार १० सामुदायिक र ८ हजार ९ सय ४१ निजी विद्यालय सञ्चालनमा छन्। शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ५२ लाख विद्यार्थी सामुदायिक र ३० लाख विद्यार्थी निजी विद्यालयमा पढ्छन्। यी शीर्षकमा दुवै विद्यालयका विद्यार्थीबाट शुल्क संकलन हुँदै आएको शिक्षा मन्त्रालयले जनाएको छ।

Logo