सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा.ल्हारक्याल लामालाई मनोनित गरेको छ।
माओवादी केन्द्रीय सदस्यसमेत रहेका लामालाई मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि कोषको उपाध्यक्षमा मनोनित गरेको हो। कोषको संरक्षक प्रधानमन्त्री र अध्यक्ष संस्कृतिमन्त्री रहने व्यवस्था लुम्बिनी विकास कोष ऐन, २०४२ मा छ।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद् बनेका विवादास्पद छविका लामा दोस्रो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद बनेका थिए। तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल साउन दोस्रो सातामा सकिएपछि उपाध्यक्ष पद रिक्त थियो।


















