फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टार फरवार्ड किलीयन एमबाप्पेलाई प्रशिक्षणमा फर्काउने निर्णय गरेको छ।
नयाँ सम्झौता गर्न नमानेको भन्दै क्लबले गत महिना एमबाप्पेलाई सिनियर टोलीबाट बाहिर राख्दै आएको थियो। क्लबले उनलाई प्रि सिजनको एसिया भ्रमणमा पनि समेटेको थिएन।
एमबाप्पेबिना क्लबले प्रि सिजनमा निकै संघर्ष गरेको थियो। गएराती सम्पन्न लोरीएन्ट विरुद्ध खेलमा पनि एमबाप्पे दर्शक दिर्घामा रहेका थिए। उक्त खेल गोलरहित बराबरीमा सकियो।
क्लबले आइतबार विहान एक विज्ञप्ति जारी गर्दै एमबाप्पे र क्लबबीच शनिबारको खेलअघि सकारात्मक छलफल भएको जनाउँदै उनलाई प्रशिक्षणमा समावेश गर्ने निर्णय लिएको छ। क्लबले उनलाई आजदेखि नै मुख्य टोलीसँग राख्ने निर्णय लिएको छ।
सम्झौताको अन्तिम सिजनमा खेलिरहेका एमबाप्पेले नयाँ सम्झौता गर्न मानिरहेका थिएनन्। क्लबले उनले नवीकरण नगरे यसै महिना ट्रान्सफर हुनुपर्ने बताएको थियो । तर एमबाप्पेले भने यो सिजन पिएसजी बसेर अर्को सिजन फ्री एजेन्ट बन्ने सोच बनाएका थिए।
त्यसो त एमबाप्पेमाथि रियल म्याड्रिडसँग अर्को सिजनका लागि मौखिक सम्झौता भइसकेको आरोप पनि लागेको छ। तर यसलाई एमबाप्पेको व्यवस्थापनले पटक पटक नकारेको छ।
एमबाप्पेका लागि अल हिलालले गत महिना ३ सय मिलियन युरोको प्रस्ताव राखेको थियो। उक्त प्रस्ताव पिएसजीले स्वीकार गरेपनि एमबाप्पे आफैंले जान मानेका थिएनन्।
यस साता उक्त प्रस्ताव अब नेयमारका लागि केहि रकम घटेर आउने सम्भावना छ। पिएसजीले अर्को शनिबार लिग अन्तर्गत टुलुजसँग खेल्दैछ। त्यसबेलासम्म एमबाप्पेबारे क्लबले सटिक निर्णय गर्ने सम्भावना छ।































प्रतिक्रिया