सुन तस्करी प्रकरणः वास्तविक तौल निकालेसँगै अब सुनलाई के गरिन्छ ?

सुन तस्करी प्रकरणः वास्तविक तौल निकालेसँगै अब सुनलाई के गरिन्छ ?

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । 

बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो । तर आज उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलोे सात सय १६ ग्राम कायम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाँग्रे सवारीको पार्टस् ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गल क्षेत्रबाट बरामद गरेको थियो । 

“हामीले बरामद सुन आज गालिसकेपछि धेरै ठूलो जर्ती गएन । वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ”, उनले भने, “सामान्य रुपले हेर्दा राम्रो गुणस्तरकै सुनजस्तो देखिन्छ । तर वास्तविक गुणस्तर परीक्षण तीन दिनभित्र गरिसक्छौँ ।”

राष्ट्र बैंकले सुन गालिसके पनि यो प्रकरणको छानबिन प्रक्रिया भने सकिसकेको छैन । गालीसकेको सुन अब के हुन्छ भन्ने विषयमा सरकारले नै निर्णय लिने आचार्यको भनाइ छ । जुनसुकै अवैध सामग्री बरामद भएपछि त्यो स्वतः सरकारको स्वामित्वमा जान्छ र त्यस्तो सामग्री के गर्ने भन्ने विषयमा सरकारले नै निर्णय लिन्छ । सामान्यतः बरामद सुनको तौल र गुणस्तर परीक्षणपछि अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थप रकम तिरेर सरकारसँग राष्ट्र बैंकले किन्ने गरेको छ ।  

सुन तस्करीबारे अनुसन्धान जारी छ । सो सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ ।उक्त प्रकरणमा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आइतबार १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको हाे। अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । भन्सार एजेन्ट रूक्मिना सुब्बा भने स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन ।

Skip This
Skip This
Logo