भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगत्तै ‘खाल्डाखुल्डीरहित काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
काठमाडौँका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन्।
उनले खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातले काठमाडौँका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेको भन्दै संघिय सरकारको मातहतमा रहेका सडकहरु वर्षात हटेलगतै स्तर उन्नतीको काममा लाग्ने बताए।
मंगलबार चक्रपथ बुढानीलकण्ठको सडक अवलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डी रहित काठमाडौँ बनाउने पनि बताए। उनले भने,‘दैनिकलाखौ मानिस हिड्ने बाटो खाल्डा र खुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्थालाई हामी छिट्टै अन्त्य गर्छौँ’ मन्त्री ज्वालाले भने ‘खाल्डा खुल्डी पुर्न र सडकको स्तर उन्नती गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौँ भने सडकको अवस्था हेर्न म आफैं नियमित आउँछु।’
खानेपानी, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिने भन्दै खानेपानी, नेपाल विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौँ महानगरपालिकासहितको एउटा समिति पनि बनेको बताए।
यस्तै, समितिको बैठक छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले जानकारी पनि दिएका छन्। उनले भने,‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोष जति मन्त्री र सचिवलाई आउँछ’ मन्त्रालयका सचिव केशव शर्माले भने ‘अब यो अबस्थाअन्त्य गर्न छुट्टै बैठक बस्छौँ र स्थायी निकास निकाल्छौँ।’
महाराजगञ्ज-बुढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडक खाल्डा र खुल्डी परेको हुँदा तत्काल हल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिएका छन्।





























प्रतिक्रिया