नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वदेशमै अवसर श्रृजना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताएका छन् ।
‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ सम्बन्धी अन्तर्क्रियामा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले औद्योगीकरणमार्फत रोजगारी श्रृजना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने बताएका हुन् ।
‘औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सृजना गर्ने कार्यक्रममा जोड दिनुपर्छ’, उनले भने, ‘श्रमशक्तिको निर्यात होइन, श्रमशक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाई भइसकेको छ ।’ उनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।
पुनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको बताए । आफूले अर्थमन्त्री भएका बेला केही उदाहरणीय काम गरेर देखाएको स्मरण पनि पुनले गरे ।
आफू अर्थमन्त्री भएका बेला समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेको स्मरण उनले गरे । तत्कालीन अवस्थामा करिब बन्द हुने अवस्थामा रहेकी तीनवटै सरकारी बैंकलाई पुँजी वृद्धि गरेर जोगाइएको स्मरण यनले गरे । हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिमा फड्को हाल्नुपर्ने उनको जोड थियो । यस्तै आफूले अर्थमन्त्री भएका बेला डुब्न लागेको बायु सेवा निगमलाई दुईवटा न्यारोबडी जहाज किनेर जोगाएको चर्चा उनले गरे ।
‘हिजो सरकारमा हुँदा पनि हामीले सस्तो लोकप्रियताका लागि धेरै हल्लाखल्ला नगरी धारासायी भएका सरकारी स्वामित्वका तीनवटा बैंकको पुँजीवृद्धि गरी निजी क्षेत्रका बैंकसँगै प्रतिस्पर्धी बनाएको र वायुसेवा निगम जोगाएको अनुभव छ’, पुनले भने, ‘अहिले पनि कमजोर व्यवस्थापनमा चलेका सार्वजनिक संस्थानहरुलाई बचाउन केही न केही नयाँ नीतिमा हामी जानैपर्छ ।’ उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको स्पष्ट गरे । मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक, निजी र सहकारीको नीति खम्बे अर्थनीतिलाई आत्मसात गरी पुँजीको सही उपयोगमार्फत उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने पुनको भनाइ थियो ।





























प्रतिक्रिया