काठमाडौं ।
फस्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । विकासका नाममा उर्वरभूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई अवरोध गरेपछि झडप भएको हो ।

किसानहरु सामूहिक रुपमा धान रोप्न गएपछि झडप भएको हो । नेवारहरुको आफ्नो भूमि माथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनास गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताइन् । ३ हजार वर्ष अगाडिको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कामका विरुद्ध धान रोपेर विरोध गरिएको उनले बताए ।

किसानहरु संयुक्त रुपमा धान रोपाईं गर्न थालेपछि विहानैदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि नाराबाजी सुरु गरेका थिए । स्थानीयहरु रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो कुदालोसहित कुदेश, सिकाली हुँदै खुदोल पुगेका थिए । उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए ।

‘फास्ट ट्रयाक चाहिंदैन किसान मार्न पाईदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होउ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुढा प्रहार गरेपछि झडपको अवस्था आएको हो । खेत रोपार्इंमा प्रहरीले अवरोध गरेपछि आक्रोशित स्थानीयको भिडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकनाहुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् । सांस्कृती सम्पदाहरुमाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।






























प्रतिक्रिया