भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट भागेका ८७ जना नाबालक बन्दीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार सुधार गृहमा प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर १०० बढी बन्दीहरू बाहिर निस्केर भागेका थिए । त्यसपछि खोजीमा लागेको प्रहरीले भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वर क्षेत्रबाट बन्दीहरूलाई पुनः नियन्त्रणमा लिएको हो ।
हाल उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीमाथि आक्रमण गरी बन्दीहरू भागेका थिए ।
झडप हुँदा ६ जना बन्दी र प्रहरी निरीक्षक सञ्जीव ओलीसहित १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरूकाे मध्यपुर अस्पताल ठिमी, वीर अस्पताल र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ ।
सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए । सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केर भागेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेका छन् ।
घटना छानबिन गर्न भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । छानबिन समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठक र महिला बालबालिका मन्त्रालयका अधिकृत सदस्य छन् ।





























प्रतिक्रिया