अभिनेत्री करिष्मा मानन्धरले सामाजिक सञ्जाल र मिडियाबाट डिजिटल रुपमा गरिने हिंसा रोक्न स्वनियमन मात्र पर्याप्त नहुने भएकाले कानून बनाएर नै नियमन गर्नुपर्ने बताएकी छिन् ।
बिहिबार ललितपुरमा आयोजित ‘डिजिटल हिंसा सम्बोधन गर्न, आवश्यक नीति, चुनौति र समाधानहरू’ विषयक अन्तरक्रियामा अभिनेत्री मानन्धरले आफू सामाजिक सञ्जाल र मिडियाकर्मीबाटै हिंसामा परेको बताइन् ।
सामाजिक सञ्जाललाई आजको परिवेशमा महत्वपूर्ण साधनको रुपमा प्रयोग गरिने भएकाले आफूले पनि विवेकपूर्ण रुपमा चलाउँदै आएको उल्लेख गर्दै उनले नियतवस आफूमाथि मिडिया र सोसल मिडियामा प्रहार/हिंसा भएको अनुभव सुनाइन् ।
‘सामाजिक सञ्जाल चलाउने क्रममा हामी दिनदिनै सचेत हुँदै गइरहेका छौँ । त्यो हुँदाहुँदै पनि अरुद्वारा तपाइँलाई हिंसा हुन्छ, किनभने तपाइँलाई अरुको दिमागमा के चलिरहेको छ र कुन इन्टेन्सनले तपाइँलाई प्रहार गरिरहेको छ थाहा हुँदैन । त्यही सिलसिलामा म एक पकट प्रेस काउन्सिलमा पनि पुगेकी छु । मिडियाले यस्तो प्रकारको पोट्रेट गरिदिन्छ कि तिमी त भिलेन हौ ?’ उनले थपिन, ‘आपत्ति हुन्छ नि आखिर मान्छे हो, मान्छेको मानसिकता कस्तो भएर जान्छ, त्यसमाथि हाम्रो दैनिक रुटिन त छँदै छ । काम घरपरिवार बाहेक यो चिजलाई (हिंसा) पनि सहनु परिरहेको छ ।’
आफू सामाजिक सञ्जालमा मिडियाकर्मीबाटै डिजिटल हिंसामा परेको र त्यसको कानूनी उपचारमा जाँदा सहज रुपमा नपाएको अनुभव सुनाउँदै अभिनेत्री मानन्धरले भनिन्, ‘कोही पनि आइदिन्छ, अनि भन्दिन्छ कि तिम्रो जीवनमा केके भएको थियो, केके भएको थिएन ? ठिक छ वाक स्वतन्त्रता छ, भन्न र आफ्नो धारणा राख्न पाइयो तर, तपाइँको चरित्र के हो, स्टोरी नै बनाएर त भन्दिन भएन नि ।’
कार्यक्रममा सामाजिक सञ्जाल तथा मिडियाको नाममा सञ्चारकर्मीले गर्ने वैयक्तिक अधिकारको हननलाई समेत सम्बोधन गर्नेगरी कानुन ल्याउन जरुरी भएको धारणा उनले राखिन् ।
पत्रकारिताको नाममा आफ्नो वैयक्तिक विषयलाई अनावश्यक रुपमा नचाहिँदो लेखेर हिंसा गरेको भन्दै त्यसको नियमन गर्नुपर्नेमा उनले जोड दिइन् । अभिनेत्री मानन्धरले भनिन्, ‘यस्तो प्रवृत्तिलाई नियमन गर्नै पर्छ । पत्रकार भनेको चौथो अङ्ग हो, उहाँहरुले समाजलाई संस्कार सिकाउने, बाटो देखाउने हो, सही र गलतको सूचना सम्प्रेषण गर्ने हो । उहाँहरु सत्य तत्थ्यको दूत जस्तो भएर हिड्नुपर्ने ठाउँमा उहाँहरुबाटै मैले हिंसा भोगे ।’
आफूले न्यायका लागि सम्बन्धित निकायमा पुग्दा निकै असहज परिस्थितिको सामना गरेको अनुभव सुनाउँदै अभिनेत्री मानन्धरले हिंसा पीडितका लागि सहज रुपमा कानुनी उपचार गर्न सकिने गरी आवश्यक व्यवस्था गर्नुपर्नेमा सरकोकारवालाको ध्यानाकर्षण पनि गराइन् ।































प्रतिक्रिया