सर्वोच्च अदालतले आज सोमबारदेखि ‘पेसी तारेख अटोमेसन सिष्टम’ थाल्ने भएको छ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले यो सिष्टम प्रारम्भ गर्न लागेको जानकारी दिएका छन् । आइतबार वधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको सामूहिक भेटमा श्रेष्ठले अदालतभित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पारे।
प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिन पनि आफूले यो अटोमेसन सिष्टमको सुरुवात गर्नु परेको बताए । श्रेष्ठले प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताए । सर्वोच्च अदालतपछि काठमाडौं जिल्ला अदालतमा तत्काल यो सिष्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ ।
उनले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानविन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताएक छन् । ‘सकभर हामी चाहिँ एउटा प्रविधिबाटै जाऊँ । यस्तै माध्यमबाट हामी अनियमिततालाई छेक्ने, अनियमितता हुन नदिने आदि कुराहरू सानातिना व्यवस्थापकीय कार्यहरूबाट पनि गर्न सकिन्छ होला,’ उनले कर्मचारीहरूले त्यो प्रविधिमा आबद्ध भएनन् भने कामै अगाडि नबढ्ने र जान्नैपर्ने बाध्यता बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले थालेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वाससमेत व्यक्त गरे । उनले न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले आफू त्यसमा लागिपरेको बताए । मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरू समेत नहुँदा अफ्ठयारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ । ‘न्यायाधीश नियुक्तिको विषय म तत्काल गरिहाल्छु । न्यायाधीश नियुक्ति नगरी नहुने भएको छ । त्यो मैले महसुस गरेको छु । म त्यसमा लागिसकेको छु । छिट्टै त्यो नतिजामा आउँछ होला । साथीहरू कम छन् । मुद्दाहरूको बोझ छ,’ उनको भनाइ छ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन् ।





























प्रतिक्रिया