अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको आत्महत्याका विषयमा पहिलोपटक बोलेकी छन् ।
काठमाडौंको रातोपुलस्थित घरमा गत असार २१ गते अभिनेता सारुक मृत फेला परेपछि अभिनेत्री नम्रताको नाम जोडेर विभिन्न विषयहरु बाहिरिएका थिए । तर, नम्रता मौन थिइन् । सारुकका बुवा कलाकार सानु ताम्राकारको पनि गत शनिबार निधन भएपछि नम्रताले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाई राखेकी हुन् ।
फिल्म ‘ह्यासट्याग माया’मा सारुकसँगै काम गरेकी नम्रताले उनी एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै घटनाले आफूलाई अचम्भित तुल्याएको बताएकी छन् । तर, आत्महत्या जस्तो संवेदनशिल विषयमा सञ्चारमाध्यममा एकतर्फी रुपमा आफूलाई लखेटिएकोमा आपत्ति जनाएकी छन् । कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लागेको उनको भनाई छ ।
‘मैले प्रहरी प्रशासन ले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुराहरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ, सुसाइड जस्तो संवेदनशील बिषयलाई ग्लोरिफाई गर्नु उचित हुँदैन, पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाई सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो। तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडिया हरू बाट यो धटनापछि भ्युजका लागी जुन कपोकल्पित समाचारहरु एकतर्फी रूप मा प्रसारण गरियो यस्ता तथ्यहीन समाचारप्रति म घाेर भर्त्सना गर्दछु।’ उनले भनेकी छन् ।
चलचित्र निर्माण टोली र सारुकका परिवारसँग आफ्नो परिवारका सदस्यहरूले शुरुका दिनहरुबाट पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको पनि उनको भनाई छ । उनले आफ्नो मौनतालाई कमजोर नसोच्न पनि चेतावनी दिएकी छन् । ‘मेरो परिवार र हाम्रो कानूनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ । मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु,’ उनले लेखेकी छन् ।
नेपाल प्रहरी अनुसन्धानमा विश्वकै शिर्ष पाँचमा पर्ने बताएकी नम्रताले भनेकी छन्- ‘यो घटनाको सत्यतथ्य पक्कै पनि दुधको दुध पानीको पानी हुनेगरी अनुसन्धान प्रहरीले गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौँ । अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसै बाट नगरौं 'JUSTICE FOR SARUK ' निष्पक्ष छानबिन होस्, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धान को सवाल मा पूर्ण सपोर्ट रहने छ ।’































प्रतिक्रिया