नाडा अटो शो २०२३ मा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहने भएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी भाद्र २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने शोमा करिव १२० स्टल र ब्लकहरु रहने जानकारी दिएको हो ।
प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहनेछ । १६ वटा ब्रान्डका चार पाङग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ ।
नाडा अध्यक्ष ध्रुव थापाका अनुसार यस पटकको अटो शोलाई थप व्यवस्थित बनाइनेछ । महानगर यातायातको सहयोगमा निःशुल्क सटल बसको व्यवस्था र अन्य विभिन्न सुविधासमेत उपलब्ध हुनेछ ।
एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमबारदेखि नै डिजिटल वालेट खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर पनि दिएको छ ।
यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्थासमेत गरेकाे छ ।
बजार सुस्तताका बाबजुद प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने नाडाले जनाएको छ । ६ दिन चल्ने प्रदर्शनीमा करिव ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
नाडा अटो शो २०२३ को शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।





























प्रतिक्रिया