आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारको ‘भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता हात्ती आयो हात्ती आयो फुस्सा’भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष साहले वर्तमान सरकारमा संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक साशन प्रणालीप्रति प्रतिबद्धता नै कम रहेको आरोप लगाएका हुन् । नेताहरुले आफ्नो स्वार्थको, लागि जे गर्न पनितयार भएकोले ठूला भ्रष्टाचार काण्डमा सानालाई ऐन र ठूलालाई चैन गराउन लागेको उनको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले सुशासन र लोकतान्त्रिक साशनको प्रत्याभूति जनतालाई दिन नसकेका धारणा पनि उनको छ ।
अध्यक्ष साहले सरकारको सुशासनको नारा सानालाई ऐन र ठूलालाई चैन भएको ललितानिवास जग्गाप्रकरणदेखि सुन काण्डसम्मले पुष्टि गरेको बताए । ‘जब यो सरकार बन्यो केही काण्डहरु बाहिर आयो,हामीलाई लागेको थियो प्रचण्ड जिको सरकार कानूनी शासनको बहाली गर्छ र सुशासनको प्रत्याभुति दिलाउँछ भनेर दुनियाँले विश्वास गरेको थियौं । हामी हेर्यौ भुटानी शरणार्थीको काण्डमा हामीलाई लागेको थियो गृह मन्त्रालयसँग सबै रेकर्ड छ। कति भुटानीको नाममा नक्कली गयो कतिको सक्कली गयो, कति भुटानी नेपाल प्रवेश गरेका थिए त्यो रेकर्ड नेपाल सरकारसँग छ विदेशीसँग छैन । नेपाल सरकारसँग छ र सरकारले नै खोजविन गर्नेमा हामी आशावादी थियौं । नतिजा हात्ती आयो हात्ती आयो फुस भनेजस्तै भयो । के-के होला भन्दै गर्दा सामान्य मान्छेलाई ऐन लाग्यो ठूलठूला मान्छेलाई आराम भयो,’ उनले भने ।
ललितानिवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको भन्दै उनले सुनकाण्डमा पनि ठूला नेताहरुको नाम आएपछि सरकार हच्किएको दाबी गरे ।
‘केही ठूल्ठूला नेतालाई पछि मुद्दा चलाउने,पछि अनुसन्धान गर्ने र सानातिनालाई अहिले जेल हाल्दिने जस्तो स्थिति बन्यो । हामीलाई आशा थियो भूटानी शरणार्थीमा दोषीहरुले सजाय पाउँछन् कानूनको कठघरामा आउँछ भन्ने कुरा सपना जस्तो भयो । ललितानिवासमा पनि दुनियाँलाई लाग्यो सरकारले अब केही गर्छ होला कानूनी र सुशासनको प्रत्याभूति दिलाउँछ,दोषीलाई कडा कारबाही गर्छन् भन्ने लागेको थियो,त्यो भन्दापनि खराब भयो ।’ उनले प्रधानमन्त्रीकार्यकारी शासनप्रणालीको प्रमुख रहेको भन्दैथपे, ‘क्याविनेटको निणर्यमा मन्त्री दोषी हुँदैन, क्याविनेटको निर्णयको सम्पूर्ण जनाफदेहिता प्रधानमन्त्रीमा हुन्छ । क्याविनेटको हवालाबाट भएको यो काण्डमा प्रधानमन्त्री साक्षी भए । भुटानी शरणार्थीमा ठूला नेताहरुका लागि वेट (पर्ख) अनुसन्धानपछि गर्ने भनेजस्तै यसमा त के भयो भने प्रमुख जो क्याविनेटको निणर्यमा दोषीहुनुपर्ने हो निणर्यलाई हवालादिनेहो भने उहाँहरु साक्षी हुनुभयो ।’
साथै साहले गौर घटनाका दोषीहरुलाई सरकारले कारबाही नगरे आफूहरु न्यायको लागि अन्तराष्ट्रिय अदालत पुग्ने चेतावनी पनि दिएका छन् । उनले गौर घटनाका पीडितहरुसँग सहमति गरे पनिकुर्सी हल्लिने भएपछि सरकार कारबाहीका लागि पछि हटेको भन्दै आफूहरु सो विषयमा चुप नबस्ने टिप्पणी गरे ।
कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको उल्लेख गर्दै उनले भने,‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुपलागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’































प्रतिक्रिया