जातीय द्वन्दको षड्यन्त्र सफल हुन दिने छैनाैँः गृहमन्त्री श्रेष्ठ

जातीय द्वन्दको षड्यन्त्र सफल हुन दिने छैनाैँः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता जनाएका छन्। 

सोमबार ललितपुरमा ज्यापु समाजको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जाति र भाषाको नाममा समुदायबीच द्वन्द उत्पन्न गराउने दुष्प्रयत्न भइरहेको भन्दै नेपालीहरुबीचको सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर पार्ने कुनै पनि षड्यन्त्र सफल हुन नदिने बताएका हुन्। 

उनले भने, ‘जातीय भाषिक समुदायकोबीच धार्मिक समुदायकोबीच द्वन्द्व, संघर्ष पैदा गराउने एउटा वा अर्को कोणबाट दुष्प्रयत्न भइरहेको पनि हामी देख्न सक्छौँ। जो अन्जानमा त्यस्तो काममा सामेल हुनुभएको छ। उहाँहरुले हाम्रो मौलिक पहिचान बुझि दिनुहोला र आफूलाई सच्याउनुहोला। जसले नियोजित ढङ्गले यस्तो काम गरेको छ। नेपालीहरुबीच सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर हुन दिने छैनौँ कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौँ।’

उनले समाजलाई आधुनिकीकरण गर्ने नाममा आफ्नो परम्परा र संस्कृतिलाई बिर्सन नमिल्ने तर्क गरे। आफ्नो पहिचान र लोक संस्कृतिमा गर्व गर्दै त्यसको रक्षा नगरी वास्तविक अर्थको विकास र सभ्य समाजको निर्माण हुन नसक्ने उनको भनाई छ।

उनले भने,‘हामीले बुझ्नुपर्छ हाम्रो समाजलाई आधुनिकीकरण गर्ने भनेको सभ्य समाज बनाउने भनेको, विकसित समाज बनाउने भनेको आफ्नो परम्परा र संस्कृतिलाई बिर्सने होइन। हाम्रो आफ्नो पहिचान छ,लोक संस्कृति छ। त्यो पहिचान र लोक संस्कृतिमा गर्व गर्दै त्यसको रक्षा नगरीकन वास्तविक अर्थको विकास ,सभ्य समाजको निर्माण हुन सक्दैन।’

Skip This
Skip This
Logo