सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

केन्द्रबिन्दु
0
Shares

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ।

प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अवधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ। प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन्। पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन्।

चिनियाँ नागरिकले त नेपाली नागरिकतासमेत लिएको खुलेको छ। तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली पक्राउ गरेको थियो।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको अपरेशनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो।विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरिरहेको छ।

ब्रेक सुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो।अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ।

Skip This
Skip This
Logo