विदेशबाट फर्किएका ९५ प्रतिशत नेपाली होटल क्वारेन्टाइनमा बसेनन्

विदेशबाट फर्किएका ९५ प्रतिशत नेपाली होटल क्वारेन्टाइनमा बसेनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणको लागि विश्व नै लकडाउन भएको छ । लकडाउनसँगै नेपालबाट विभिन्न खाडी मुलुकमा वैदेशिक रोजगारी तथा अन्य कामको लागि गएका नेपाली अलपत्र परेका थिए ।

यसरी अलपत्र परेका नेपालीलाई नेपाल ल्याउनु पर्ने चर्को दबावपछि सरकारले तीन साता अघिदेखि लगातार रुपमा उद्धार जारी राखेको छ । अहिलेसम्म चार्टर्ड फ्लाइटमार्फत विदेशमा अलपत्र परेका नागरिकहरु आजको फ्लाइटमा आउने १२ सय ९४ जनासहित १२ हजार ६ सय ६५ जनाको उद्धार गरिएको छ ।

सरकारले यसरी उद्धार गरेर नेपाल फर्किएका नेपाली नागरिकलाई दुई महिना अघि नै होटलहरुलाई केहि राहत होस् भनेर होटल क्वारेन्टाइनमा राख्ने योजना बनाएको थियो । सरकारको यो योजना अनुसार होटल संघ नेपालले काठमाडौं उपत्यकाका होटलहरुलाई क्वारेन्टाइन बनाउन सहमति जनाएका थिए ।

होटल व्यवसायीहरुले कोरोना संक्रमणका कारण सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्र र त्यसभित्र पर्ने होटलहरुलाई पुर्नजीवन दिन सकिने भन्दै व्यवसायीहरुले चारै स्तरका होटलहरुलाई क्वारेन्टाइन बनाउन सकिने गरी रुमरेट र खानाको मेन्युसहित प्रतिदिन शुल्क २ हजारदेखि १६ हजारसम्म तोकेर सरकारलाई बुझाएका थिए । होटल संघका अनुसार उपत्यकाका करिव ६० वटा चारतारे होटलसम्मलाई क्वारेन्टाइनको लागि दिएको थियो । त्यहि अनुसार होटलहरुले तयारी गरे पनि सरकारले विदेशबाट फर्किएकाहरुले सेल्फ क्वारेन्टाइनमा बस्न मिल्ने निती बनाए पछि यसरी फर्किएका अधिकांश होटलमा नबसेर होम क्वारेन्टाइनमा बस्न गएको होटल संघका महासचिव साजन शाक्यले बताए ।

उनका अनुसार अहिलेसम्म उद्धार गरिएका मध्ये विभिन्न होटलमा गरी ६ सय जना अर्थात ५ प्रतिशत मात्रै होटल क्वारेन्टाइनमा बसेका र बाँकी ९५ प्रतिशत सबै होम क्वारेन्टाइनमा बस्न गएका छन् । उनले भने,‘सरकारको नयाँ निती बनाएकाले पनि होटल क्वारेन्टाइनमा बस्नेहरुको सङख्या न्युन भएको छ । यसमा सरकारले नै होटलहरुलाई केहि राहत दिने योजनामा सरकारले नै निती फे¥यो ।’ सरकारले केहि दिन अगाडीदेखि विदेशबाट फर्किएकाको पिसीआर र आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई घरमै सेल्फ क्वारेन्टाइन बस्न सकिने निती ल्याएको थियो । यसले गर्दा विदेशबाट उडान भन्दा एक दिन अघि होटल क्वारेन्टाइनको लागि बुकिङ गरेका प्राय यात्रु विमानस्थलबाट होल्डिङ सेन्टरमा पुगेपछि धमाधम घर फर्किने गरेको उनको भनाइ छ ।

होटलमा बसेका मध्ये पनि उनीहरु दुई रात मात्रै होटलमा बसेर घर फर्किने गरेको होटल व्यवसायीहरुले बताएका छन । सरकारले होटलहरुको लागि राम्रो योजना बनाए पनि व्यवसायीहरुले सोचे जस्तो नभएको तथा सरकारले व्यवसायीहरुसँग यस विषयमा राम्रो समन्वय नगरेको गुनासो गरेका छन् । उपत्यका मात्रै नभएर देशभरका होटल क्वारेन्टाइनहरुको अवस्था यस्तै भएको छ । सरकारले विदेशमा नै पिसिआर परीक्षण गरेर नेपाल फर्किएका यात्रुहरुलाई सेल्फ क्वारेन्टाइन वा नगरपालिकाको क्वारेन्टाइनमा बस्न पाउने व्यवस्था बनाएपछि सबै यात्रु होम क्वारेन्टाइनमा बस्न थालेका छन् ।

Skip This
Skip This
Logo