- विशेष संवाददाता
काठमाडौं । “निगममा ३७ अर्ब रुपैयाँ घाटा के कारणले, कसरी हुन पुग्यो, गम्भीर समीक्षा हुन जरुरी छ ।” ठ्याक्कै एक वर्ष अगाडि अर्थात असार १६ गते राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ।
प्रधानमन्त्री ओलीले निगमकै व्यवस्थापकीय कमजोरीले गर्दा घाटामा पुगेको हो कि भन्ने आशंका समेत व्यक्त गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेरै भएपनि सुधार ल्याउने बताएका थिए । बोलीमा खरो र प्रष्ट देखिएपनि ओली नेतृत्वको सरकारले कामबाट भनें निगमको व्यवस्थापकीय कमजोरी अझै सुधार्न सकेको देखिन्न ।
प्रधानमन्त्री ओलीले यो अभिव्यक्ति दिएको एक वर्ष पुगेकै दिन आज निगम व्यवस्थापनले गरेको एउटा चरम लापरवाही केन्द्रबिन्दुलाई प्राप्त भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण नेपाली अर्थतन्त्र पनि धर्मराएको छ । यसबाट निगम पनि अछुतो छैन तर, निगमका केही टिमलाई भने लकडाउन फापेको पाइएको छ ।
कोरोना भाइरस संक्रमणको क्रममा आन्तरिक र बाह्य दुबै उडान रोक्न बाध्य बनेको नेपाल बायुसेवाको दुर्गती हेरेर धेरैले ‘कठैबरा’ भन्ने गर्छन् । तर, यो दुर्गती कति आफ्नै कारण र कति अर्काका कारणले निम्तिएको हो भन्ने छिनोफोनो भने खासै हुने गरेको छैन ।
यसपटक कोरोना संकट र महामारीका माझ नेपाल वायुसेवामा उस्तै हविगत देखिएको छ । यत्रो साख र इतिहास रहेको नेपाल वायुसेवा निगम पछिल्ला बर्षमा निजी क्षेत्रको हिमालय एयरलाइन्ससँगको प्रतिष्पर्धामा उत्रिएको छ, त्यो पनि नियमसंगत कारणले होइन- सरकारी प्रबन्ध र कुदृष्टिका कारण ।
अहिले बिभिन्न मुलुकमा चार्टर सेवाको उडानमा जुटेको नेपाल वायु सेवा निगमका पाइलट, एयर होस्टेज र बरिष्ठ कर्मचारीहरु एक महिनायता महंगो ५ तारे होटलमा रमाइरहेको पाइएको हो । उनीहरु आफ्नो रुची तथा उड्यन सुरक्षा निकाय (आइकाओ)को निर्देशिका देखाएर होटल सोल्टीमा ‘हाइप्रोफाइल क्वारेन्टाइन लाइफ’ विताइरहेका छन् ।
सरकारले तोकेको क्वारेन्टाइन आधार र मापदण्डको होटल नभएपनि चार्टर उडान भरेर आउनासाथै हरेकपटक नेपाल वायु सेवाका पाइलट तथा अन्य कर्मचारी होटल सोल्टीमा बस्ने गरेका छन् । यो संख्या अहिले ७० को हाराहारीमा पुगिसकेको छ । र, यिनको दिनहुँ खर्च मात्रै ५ लाख रुपैंयाभन्दा बढी छ जसलाई नेपाल वायुसेवा आफैंले बेहोर्नुपर्ने हुन्छ । यो खर्च भनेको नेपाल वायु सेवा निगमले गर्ने आम्दानीको दोब्बर हो ।
सरकारले तोकेको क्वारेन्टाइन र मापदण्डभित्र अन्य कम खर्चिला राम्रा होटलहरु नै भएपनि महंगो सोल्टी नै किन रोजियो भन्ने प्रश्न खडा भएको छ । यस्तै क्वारेन्टाइनको नाममा निगमको आम्दानी भन्दा बढी खर्च भैरहंदा त्यसबारे सम्बन्धित अधिकारीहरु भने मौन छन् ।
हिमालय एयरलाइन्सका कर्मचारीले सुरक्षित तवरले घर वा कम खर्चिला राम्रा होटल प्रयोग गर्दा हुने अनि सधैं घाटामा भएको निगमले चाहि किन बढी खर्च गर्ने ? यसको जवाफ निगमका उच्च अधिकारीहरुले दिनुपर्छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार लकडाउन यता अर्थात चैत ११ गतेपछि अहिलेसम्म २९ वटा चार्टर र २९ वटा उद्धारका लागि उडान भएका छन् । यसरी उडान भरेर आएका पाइलटलगायतका कर्मचारीहरु क्वारेन्टाइनमा राखिने गरेको छ । प्रवक्ता खड्काका अनुसार फ्लाइटमा गएर आएका टिमलाई नियमितरुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने गरेको छ । नियमित उडान भएको अवस्थामा क्वारेन्टाइनमै बसेरै ४ देखि ५ वटा फ्लाइट भर्ने गरिएको छ । अथार्त १४ दिनको तालिकाभित्र अर्को उडान परेमा फेरि उही पाइलट सोल्टीबाट निस्किएर एयरपोर्ट पुग्छ, र फर्केर सोल्टीमैं आएर बस्छ ।
सुरक्षा प्रबन्ध र कोरोना सचेतनाका आधारमा यसरी सोल्टीमा ‘क्वारेन्टाइन’ राख्नु ठीकै होला, तर यसैगरी चार्टर फ्लाइट भरेर आएका हिमालय एयरलाइन्सका पाइलट, स्टाफ भने कहींकतै पनि होटलमा बसिरहेका छैनन् । सबैजना पूर्ण सुरक्षा र सतर्कताका उपाय अपनाएर घरमैं बसेर काम गरिरहेका छन् ।
कोरोना संक्रमणका माझ कुवेत, युएइसहितका मुलुकबाट नेपाल बायुसेवामैं उडेर आएका केही नेपाली यात्रुमा कोरोना पोजेटिभ भेटिएपछि अहिले कोही आइसोलेसन त कोही आइसीयु कक्षमा बसेर उपचाररत छन्, तर सोल्टीमा बस्ने पाइलट र अरु कर्मचारीहरु भने ५० भन्दा बढी जना अट्ने एउटै कक्षमा बसेर लन्च–डिनर लिन अनुमती पाइरहेका छन् ।
उडान अफर आउनासाथ विदेश यात्रा गर्ने अनि फेरि सबै एकैठाउँमा भेला भएर खानपिन गर्ने । के यो क्वारेन्टाइनको नियमभित्र पर्छ ?
यस खालको क्वारेन्टाइन प्रवृतिले सुरक्षा होइन जोखिम निम्त्याउने गर्दछ । यसको सीधा अर्थ हुन्छ जोखिम निम्त्याउन निगमको खर्च । देखावटी सुरक्षाका लागि गरिएको लगानीले जोखिम मात्रै निम्त्याएको छैन निगमको घाटामा थप मलजल भएको छ । यस घटनाक्रमले जे जसरी भएपनि फाइदा उठाउने र राज्यदोहन गर्ने नियतमा नेपाल बायुसेवा लागीपरेको स्पष्टै हुन्छ ।
नेपाल वायुसेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन २२ साउन २०७६ मा पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठित ५ सदस्यीय ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा पनि व्यवस्थापकीय कमजोरी रहेको उल्लेख छ ।
‘निगमको वित्त व्यवस्थापन प्रणाली अत्यन्तै कमजोर रहेको वित्त विभागको प्रमुख र सम्बद्ध कर्मचारीहरुको बिचमा सामन्जस्यता नरहेको अल्पकालीन दायित्वको भुक्तानीको लागि कुनै योजना नरहेको देखिएकोले संस्थागत रुपमै प्रभावकारी वित्तिय व्यवस्थापन प्रणाली स्थापना गर्नु पर्दछ।’ प्रतिवेदनमा भनिएको छ । त्यस्तै उक्त प्रतिवेदनमा आन्तरिक अव्यवस्थाकै कारण निगमलाई धराशायी बनाउन सक्ने समेत उल्लेख छ ।





























प्रतिक्रिया