लमजुङमा रहेको ८ वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन बनेका छन्।
मध्य नेपाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे भदौ १२ गते तनहुँको शुक्ला गण्डकी नगरपालिकामा सरुवा भएका छन्। नगरपालिका प्रवक्ता रामचन्द्र भण्डारीका अनुसार हालसम्म प्रमुख प्रशासकीय अधिकृतमा आउने कर्मचारीको टुंगो लागेको छैन। प्रमुख प्रशासकीय अधिकृत नआउँदा विकास निर्माण तथा योजना प्रभावित बनेको उनले बताए।
हाल स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेललाई निमित्त प्रमुख तोकिएको छ। बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेल बाग्मती प्रदेश कार्यालयमा सरुवा भएका छन्।उनको ठाउँमा राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयेललाई सरुवा गरिएको छ।
सुयेललाई मन्त्रालयको पत्र प्राप्त भइसके पनि राइनास नगरपालिकाबाट रमना भने लिइसकेका छैनन्। राइनासमा उहाँको ठाउँमा जिल्ला समन्वय समिति नुवाकोटमा कार्यरत प्रकाशराज पौडेल आउने भएका छन्। बेंसीशहर नगरपालिकामा शिक्षा शाखा उपसचिव किसानराज चिलुवाललाई निमित्त दिइएको छ।
क्व्होलासोथार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा माधवप्रसाद वाग्ले भदौ १९ गतेदेखि हाजिर भएका छन्। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले नयाँ खटिएर आएका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यभार सम्हालिसकेको बताए।
दोर्दी गाउँपालिका र मर्साङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु पनि सरुवा हुने तयारीमा छन्। दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी हाल चीनमा रहेको र चीनबाट फर्किएपछि प्रमुख प्रशासकीय अधिकृतको सरुवा प्रक्रिया अघि बढ्ने स्रोतले बताएको छ।































प्रतिक्रिया