अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो। यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ। यो रोगबाट संसारभरका लाखौँ मानिस पीडित छन्।
यो रोग लागेपछि बिस्तारैबिस्तारै मस्तिष्कका कोषहरू मर्दै जान्छन्। जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ। यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्त्यमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ। पछिल्लो समय यो रोग लाग्नेहरूको संख्या बढ्दो क्रममा रहेको डा.जिपि अग्रवालले बताएका छन्।
उनले भने,‘अहिले बिर्सने रोग अल्जाइमर्सको संख्या बढिरहेको छ। सबै बिर्सने रोग अल्जाइमर्स हुँदैन। तर अल्जाइमर्सको कुनै उपचार छैन। यसको सुरुवातमा आफूलाई नै बिर्सेको जस्तो लाग्छ। ‘मेमोरी लस’ भनेको साधारण कुराहरूबाटै सुरु हुन्छ। विस्तारै यो बढ्दै जान्छ र विस्तारै अरूले पनि याद गर्छन्। समयमा यो रोगको उपचार गर्न सकिएन भने अकालमै मृत्यु हुन सक्छ। दिमागले काम नगरेपछि विभिन्न दर्घटना पनि हुन सक्छ।’
डा.अग्रवालका अनुसार सुरुवाती अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्ने र समाधानका उपायहरू खोज्नुपर्छ। ६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ। समयमा नै यो रोगबाट बच्न पनि सकिन्छ।
भिटामिन ‘बी’ नियमित सेवन गरे, डिप्रेसनबाट बच्ने, मानसिक तनाव नलिने, निन्द्राको समस्या समाधान गर्ने, लागू औषधको प्रयोग र जाँड रक्सी खान छोडे यो रोग लाग्ने जोखिम कम हुन्छ।
सरकारले यो रोगबाट पीडित भएकाहरूलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहायता गर्दै आएको छ।
यस्तै, संशोधित नीति तथा कार्यक्रममा औषधि उपचारका लागि थप मासिक पाँच हजार रुपैयाँ सहायता दिने व्यवस्था पनि गरिएको छ। ‘अल्जाइमर्स’ दिवस सन् १९९४ देखि हरेक वर्ष सेप्टेम्बर २१ तारिखदेखि मनाइँदै आएको छ।
यसका लक्षणहरू
१.स्मरण शक्तिको ह्रास आउने, दैनिक जीवनयापनमा कठिनाई, खास गरी भर्खरैको घटनाहरू र व्यक्तिका नामहरू समेत बिर्सने।
२.तर्क गर्ने क्षमता हराउनु र सामान्य समस्याहरू पनि समाधान गर्न नसक्नु।
३.सामान्य काम गर्न पनि असमर्थ हुनु।
४. समय तथा स्थानको ज्ञान हराउँदै जानु।
५.आँखाले देखेका कुराहरू नचिन्नु।
६.टाढाको दूरी अथवा सम्बन्ध छुट्याउन नसक्नु।
७. सामानहरू कता राखे भन्ने बिर्सनु।
८. स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु।
९.घरायसी तथा व्यावसायिक क्रियाकलापबाट विमुख हुनु।
१०.व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुनु।
के गर्ने ?
१. समयमा सुत्ने।
२.तानव नलिने।
३. जीवन शैली परिवर्तन गर्ने।
४.उच्च रक्तचापको उपचार।
५.शरीरको तौल नियन्त्रणमा राख्ने।
६.नियमित शारीरिक व्यायाम गर्ने।
७.खानपिनमा विशेष ध्यान दिने।
८.पोषण तत्त्वहरूको कमी हुन नदिने।
भिटामिन ‘बी’ नियमित सेवन गरे रोगबाट बच्न सकिने विज्ञहरू बताउँछन्। डिप्रेसन, मानसिक तनाव,निन्द्राको समस्या,लागुऔषधिको प्रयोग र धेरै जाँड रक्सी पिउनेलगायतका कारण यो रोग लाग्ने खतरा हुन्छ। यस्ता कुलत समयमै छोड्नुपर्छ।































प्रतिक्रिया