बुटवल । सैनामैना नगरपालिका– ८ कलौनीमा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा बाबु छोराको ज्यान गएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उनका ३० वर्षीय छोरा सन्तोषको ज्यान गएको हो ।
दुर्घटनामा घाइते दुबैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । ज्यान गुमाउने सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुन्।
बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।–रासस































प्रतिक्रिया