चिनियाँ लगानीकर्ताका लागि नेपाल विश्वासिलो गन्तव्य हो -अध्यक्ष ढकाल

चिनियाँ लगानीकर्ताका लागि नेपाल विश्वासिलो गन्तव्य हो -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल लगानीको विश्वासिलो गन्तव्य भएको भन्दै अझ बढी चिनियाँ लगानीको अपेक्षा रहेको बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमणमा रहेका बेला आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । चीन नेपालका लागि दोस्रो ठूलो व्यापार साझेदार मुलुक भएको उनले बताए । 

नेपालले कूल आयातको १६ प्रतिशत चीनबाट गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालबाट चीनतर्फको निर्यात कम भएकाले यसलाई बढाउन पर्नेमा जोड दिए । 

“नेपालमा लगानी गर्ने बहुराष्ट्रिय कम्पनीहरूले उच्च प्रतिफल लिइरहेका छन्”, उनले भने, “नेपाल विदेशी लगानी भित्र्याउन र प्रविधि हस्तान्तरणका लागि तयार छ ।” उनले यस वर्ष नेपालमा पर्यटकीय पूर्वाधारमा उल्लेखनीय प्रगति भएको, दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पर्यटकीय गन्तव्य सञ्चालनमा आएको भन्दै लगानीको सम्भावना बढेर गएको बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घले वैदेशिक लगानीकर्तालाई लक्षित गरी एकद्वार प्रणालीमार्फत वैदेशिक लगानी ल्याउनका लागि एफडीआई हेल्प डेस्क स्थापना गरेको समेत अध्यक्ष ढकालले जानकारी गराए । उनले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा राम्रो सम्भावना भएको भन्दै लगानीका लागि आग्रह गरे । 

सो अवसरमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीका उपाध्यक्ष झाङ शाङगङले नेपालमा लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र सिसिपिआइटीको संयुक्त प्रयासमा लगानीका क्षेत्र पहिचान गरी लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Skip This
Skip This
Logo