सलह किरालाई माछा र कुखुराको आहार बनाउने तयारी

सलह किरालाई माछा र कुखुराको आहार बनाउने तयारी

केन्द्रबिन्दु
0
Shares

धनगढी

सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ ।

धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पुर्याउन सक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताए । यसका लागि सलह किरा टिपेर ल्याउनेलाई वडा कार्यालयमार्फत प्रतिकिलो २५ प्रोत्साहनस्वरुप दिने निर्णय गरिएको छ । माछा र कुखुराका लागि पोषिलो दानाका रुपमा मरेको सलह किरा निकै उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ ।

“सकभर सलह किरा प्रदेशमा नभित्रियोस् भन्ने चाहना हो”, शर्माले भने, “भित्री हालेको अवस्थामा थाल ठटाउने, धुवाँ लगाउने होहल्ला गर्ने जस्ता उपाय अवलम्बन गरेर भए पनि किरा धपाउन कृषकलाई सचेत बनाउन लागिएको छ ।” यो किराको पहिचान र नियन्त्रणका लागि सञ्चारमाध्यममार्फत प्रचारप्रसार कार्यसमेत गर्न लागिएको छ ।

क्षेत्रीय कृषि सेवा निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा सलह किराको नियन्त्रण लगायतको कामका लागि ‘रेपिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । यो किराले पुर्याउन सक्ने क्षति रोकथामको पहल गर्न जिल्लास्तरमा सरोकारवालासँग समन्वय गर्ने जिम्मा कृषि ज्ञान केन्द्रलाई दिइएको छ । असार १५ गते मनाइँदै आएको धान दिवस भने यस वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

धनगढी उप–महानगरपालिकाको तयारी

कृषि विज्ञले पश्चिम नेपालमा सलह किरा आउन सक्ने पूर्वअनुमान गरिएपछि धनगढी उप–महानगरपालिका यसको रोकथाम व्यवस्थापनको पूर्वतयारीमा जुटेको छ । आइतबार उप–महानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारीको सहभागितामा सलहले पुर्याउने क्षति रोक्ने विषयमा छलफल गरिएको छ ।

नगरप्रमुख नृपबहादुर ओडले सलह किराले पुर्याउने सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको बताए । उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यसको क्षति घटाउनका लागि अपनाइने उपायका बारेमा जिङ्गल बनाएर वा माइकिङ गरेर किसानसम्म सूचना पुर्याउने र वडातहबाट पनि सूचना प्रवाह गर्ने योजना बनेको बताए ।

उपमहानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलह किराको प्रकोप रोक्न विषादी प्रयोगका अलावा किराले प्रजनन् गर्न सक्ने ठाउँ नष्ट पार्ने, खेतबारीमा लसुन पानी छर्किने, झुलजालको प्रयोग गर्न सकिने लगायतका नियन्त्रणका विधि पनि अपनाउन सकिने बताए।रासस

Skip This
Skip This
Logo