काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये कोरोना भाइरसको संक्रमणका कारण बैंकिङ क्षेत्रले धमाधम खर्च कटौती गरिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूले भने आफूलाई तलब कम भएको बताएका छन् । खर्च कटौती गर्दा सिइओहरुको सेवा सुविधाको विषय पनि उठ्न थालेपछि बैंकर्सहरुले यस्तो बताएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसको पदाधिकारी बैठकले १४ औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यसूची परिवर्तन गर्ने सम्बन्धी छलफल गरेको छ । आइतबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने सम्बन्धी छलफल गरेको हो ।
कोरोना भाइरसको प्रभाव र असरलाई जित्दै युरोप ब्युँतने प्रयासमा छ । संक्रमणदर न्यून हुँदै जाँदा युरोपले जुलाईदेखि विदेशी नागरिकको आगमनलाई खुल्ला गर्ने जनाएको हो । तर, यस्तो अवस्थामा युरोपियन युनियनले सबैभन्दा बढी संक्रमित अमेरिकालाई भने प्रवेशमा रोक लगाउने संकेत गरेको छ ।
त्यस्तैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताएका छन् । आइतबार ६९ औँ मदन जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेकपाको सरकारलाई हटाउने खेल सुरु भएको बताएका हुन् ।
सलह किरा वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेकाले बढीमा एक महिनासम्म प्रकोप रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । यसरी वयस्क बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया