इन्द्रदहमा भक्तजनको घुइँचो

इन्द्रदहमा भक्तजनको घुइँचो

केन्द्रबिन्दु
0
Shares

भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ। हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ।

इन्द्रजात्राको दिन राति खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पुर्याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ।

सोहीअनुसार  बिहीबार राति इन्द्रायणी देवीलाई इन्द्रदह पुर्याएको थियो। इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने आज भक्तजनको भीड लागेको हो।

देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रुपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रुपमा समेत लिने गरेको छ। इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहेको छ।

इन्द्रदहमा वासुकी नागको बसोबाससमेत रहेको विश्वास गरिन्छ। त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ। 

इन्द्रदह परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन्। त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घा“टी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रही आएको छ।  

Logo