दुई सय वर्ष पुरानो सत्तल जीर्ण, गाईखुरको पनि संरक्षण भएन

दुई सय वर्ष पुरानो सत्तल जीर्ण, गाईखुरको पनि संरक्षण भएन

केन्द्रबिन्दु
0
Shares

रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ।

मन्थली बजारको पारिपट्टी मन्थली नगरपालिका-८ चिसापानीको गाईखुरामा रहेको प्राचीन सत्तल, सत्तलसँगै रहेका प्राचीन शिलालेख र तामाकोसी नदी किनारमा रहेको गाइखुर संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन्। 

गाईखुराको सत्तलमा रहेको शिलालेखमा शाके संवत् १७५० र श्रीसम्वत् १८८५ लेखिएको छ। सो शिलालेखको आधारमा पनि उक्त सत्तल झण्डै २ सय वर्ष अघि बनेको प्रमाणित हुन्छ। 

कान्तमणि वैद्यले आफूले पाएको बिर्तामा नर्मदेश्वर शिवलिङ्ग स्थापना गरेको विवरण उक्त शिलालेखमा उल्लेख छ। शिवलिङ्ग स्थापनासँगै सो ठाउँमा सत्तल पनि बनाएको देखिन्छ। 

झण्डै २ सय वर्ष पुरानो सत्तल निकै कलात्मक छ। सो स्थानमा केही ढुङ्गे मूर्तिहरू पनि छन्। तिनको उचित संरक्षण हुन सकेको छैन। ती यत्रतत्र छरिएको अवस्थामा छन्। 

झिँगटीको छानो लगाएको सत्तल पानी चुहिएर ढल्न लागेपछि प्लाष्टिक छापेर राखिएको छ। त्यही पनि च्यातिएर जान लागेको छ। सत्तलको न सरसफाइ छ, न संरक्षण नै। सत्तल छेउमा ठुलो मन्दिर बनाइए पनि सत्तल भने बेवारिसे जस्तै भएको छ।
 
वैद्यको बिर्ता भए पनि अहिले गाईखुरामा वैद्यका सन्तान कोही छैनन्। गाइखुराको माथि चिसापानीमा नेवार गाउँ भए पनि गाईखुरामा माझी बस्ती छ। 

गाईखुरा र जखनीटारको बिचको तामाकोसी नदी तटमा रहेको विकट पहरोमा गाईको खुरको गहिरो छाप भएको आकृति पनि छ। सम्भवतः नदीले काटेर ढुङ्गाको त्यो आकृति बनेको हुनसक्छ।

तर त्यसको किम्बदन्ती भने अर्कै छ। किम्बदन्ती अनुसार महादेव नन्दीमा सवारी भएर त्रिवेणी हुँदै तामाकोशी किनारै किनार गौरीशंकर हिमाल तर्फ जाँदैगर्दा उनको वाहन नन्दीले टेक्दा सो पाइला बनेको बताइन्छ।

शिवजीलाई बोकेको नन्दीले एउटा पाइलो यहाँ  र अर्को पाइलो चनखुको महादेवटारमा टेकेको किम्बदन्ती छ। गाईखुरा नामाकरण भएको पहरो रहेको ठाउँलाई देउतीडाँडा पनि भनिन्छ। 

माछा मार्न जाल हान्दै जाँदा माझी समुदायले सो गाईको पदचिह्न फेला पारेका भनाइ छ। गाईको पदचिह्न फेला परेपछि सो पहरामा पूजा हुन थाल्यो र त्यसको नाम नै देउतीडाँडा रहन गयो। 

वर्षाको बेलमा तामाकोसी बाढी आउँदा सो ढुङ्गोलाई समेत छोप्छ। तल जाने बाटो पनि अप्ठेरो भएका कारण भक्तजनले माथि डाँडामा नै पूजा गर्न लागेर डाँडाको नाम देउतीडाँडो रहन गएको स्थानीय बालकृष्ण माझी बताउँछन्। 

प्राचीन सभ्यता र सम्पदा रहेको गाइखुरा क्षेत्रको संरक्षण र पुरातात्विक अनुसन्धानमा सरकारले ध्यान दिएको छैन। भएका संरचनाको संरक्षमा समेत सरकारको ध्यान नपुग्दा जोगाउन कठिन भएको माझी बताउँछन्।

ऐतिहासिक सो सत्तल मर्मतको लागि बारम्बार भन्दा यस वर्ष पुरातत्त्व विभागले ५० लाख रुपैयाँ छुट्याएको उनले बताए। ‘यस वर्ष ५० लाख रुपैँया छुट्याएको छ,अब भने टेण्डर प्रक्रियामा गएर काम सुरु होला भन्ने आशा जागेको छ’, उनले भने।

Skip This
Skip This
Logo