सलहको उत्पति, नियन्त्रणको उपायदेखि किन्ने होडबाजीसम्म

सलहको उत्पति, नियन्त्रणको उपायदेखि किन्ने होडबाजीसम्म

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विनाशकारी किरा सलह शनिबार नेपाल प्रवेश गरेसँगै यसले पुर्‍याउने असर तथा रोकथामका उपाय बारेमा चर्चा चुलिएको छ । करिव ७० वर्षपछि तराई–मधेशका जिल्ला हुँदै काठमाडौं उपत्यकामा समेत आइपुगेको सलह कहाँ सम्म पुग्ने हो र कति असर पुर्‍याउने हो भनेर किसान पनि चिन्तित बनेका छन् ।

केही समय अघि पाकिस्तान, भारतहुँदै दक्षिणी हावाको बेगसँगै सलह नेपाल प्रवेश गरेको कृषिविज्ञहरुको भनाइ छ । उनीहरूका अनुसार सलहको वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेकाले नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण गरेका छन् । यसरी वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए । उनका अनुसार वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन भने बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्नेछ । यद्यपी वयस्क सलहलाई अण्डा पार्न भने राजस्थान नै जानुपर्ने हुन्छ ।

फौजी किरा जस्तै हुने सलह समूहमा हिड्ने तथा जहाँ हरियो देख्यो त्यही बस्ने र हरियो पात सखाप पर्ने प्रकृतिको हुने गर्छ भने, यसले गर्मी र मरुभूमिमा मात्र बच्चा जन्माउने भएकाले अन्य देशमा जस्तो असर नगर्ने अनुमान गर्न सकिने शर्माको भनाइ छ । शनिबारबाट नेपाल प्रवेश गरेको सलह सोमबारसम्म हावाकोे बेग अनुसार नेपालका जुनसुकै स्थानमा पुग्न सक्ने अनुमान गरिएको छ । सुरुमा बारामा देखिएको सलह त्यसपछि अन्य जिल्लाहरू रुपन्देही, पर्सा, सर्लाही, सिन्धुली, चितवन, मकवानपुर, ललितपुर, काभ्रे लगायत १७ बढी जिल्लामा देखा परिसकेको छ । प्रतिदिन १५० किलोमिटर बराबरको गतिमा उड्ने यो किरा ४ दिनमै नेपालभर पुग्न सक्ने विज्ञहरुले बताएका छन् ।

यस्ता छन् नियन्त्रणका उपाय

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा सरोकारवाला निकायका अधिकारी र विज्ञहरुले सलह रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गर्दै उनीहरूले सलह नियन्त्रण गर्न तत्काल एक्सनमै जानसमेत सुझाव दिएका छन् ।

शर्माका अनुसार सलह आठ, दश करोडको समुहमा आएर बाली विनाश गर्ने यो किरा नेपालमा दुई चार लाखको समुहमा मात्रै आएकाले यसको नियन्त्रण गर्न सकिने बताएका छन् । अहिले नेपाल प्रवेश गरेका सलहबाट डराइहाल्नु पर्ने अवस्था नभएकाले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर भगाउन पनि सकिनेछ ।

त्यस्तै, अहिले सलह नपुगेको स्थानमा बालीनालीमा टनेल तथा प्लास्टिकको घर बनाई किरा छिर्न नदिन पनि सकिन्छ । सलह किरा बिहानको समयमा घाम तापेर बस्ने हुँदा त्यस्तो बेला दमकल, हेलिकप्टर, ड्रोन वा जहाजको प्रयोगबाट विषादी छर्केर भगाउन सकिनेछ । यसको नियन्त्रणका लागि मालाथिन, ल्याम्डा साइहेलोथिन, क्लोरोपाइराफस लगायत विषादी छर्किन सकिन्छ । मानिसको स्वास्थ्य र वातावरणलाई असर नपार्ने मालाथिन प्रयोग गर्दा एकै दिन धेरै संख्यामा सलह कम गर्न सकिने कृषिविज्ञहरुको भनाइ रहेको छ ।

यता, संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांक अनुसार साधारण तया यो कीराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ । एक किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ । हालै भारतमा यो सलहले पाँच लाख हेक्टर क्षेत्रफलमा लगाइदिएको बालीलाई पूर्णरुपमा क्षति पुर्याइसकेको अनुमान गरिएको छ । भारतको पन्जाब, हरियाणा, राजस्थान, गुजरात, उत्तर प्रदेशमा देखा परिसकेको सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै, मसला बालीहरू पूर्णरुपमा क्षति पुर्‍याइसकेको थियो ।

सलह किन्नेको होडबाजी

नेपालमा विनाशकारी सलह किरा प्रवेश गरेसँगै शनिबार प्रदेश न. ५ सरकारले १ केजी सलह समातेर ल्याएमा २० रुपैयाँ दिने घोषणा गरेको छ । यसरी सलह नियन्त्रण गर्न सहयोग पुग्ने भन्दै प्रदेश सरकारले केजीको २० रुपैयाँ दिने भनेपछि कृषकहरुले व्यक्तिगत रुपमा नै मूल्य निर्धारण गरेर सलह किन्ने होडबाजी नै चलेको छ ।

युवा उद्यमी तथा विद्यार्थी केशव रावलले प्रदेश सरकारको भन्दा ३ गुणा बढी मूल्य ६० रुपैयाँ प्रतिकेजीमा सलह किन्ने घोषणा गरेका छन् । त्यस्तै, हेटौँडाका एकजना व्यवसायीले पनि नेपाल प्रवेश गरेको सलह किरा किन्ने घोषणा गरेका छन् । हेटौँडाका व्यवसायी बैकुण्ठ लामिछानेले प्रतिकिलो २० रुपैँयाँमा ३ हजार किलोसम्म सलह किरा किन्ने घोषणा गरेका हुन् ।

त्यस्तै, कृषिविद् मदन राईले पनि नेपालमा प्रवेश गरेको सलह सिद्रामाछा भन्दा पनि पोषिलो हुने भएकाले यसको दाना बनाउँदा राम्रो हुने भन्दै सलह समाएमा एक हजार किलोसम्म किलोको एक सय रुपैयाँका दरले किन्ने बताएका छन् । राईले केन्द्रबिन्दुुसँगको कुराकानीमा सलह किरा मरुभूमिबाट आएका हुँदा पौष्टिक तत्व बढी हुने हुँदा यसको प्रयोग गरेर कुखुरा तथा बङ्गुरको बच्चालाई दानाको लागी राम्रो हुने बताएका छन् । सलहलाई पन्जा लगाएर वा जाल थापेर समाउन सकिन्छ । त्यसैले यसरी कसैले सलह समाएमा यो सिद्रामाछाको मूल्य बराबरको मुल्यमा किन्ने घोषणा नै गरेका छन् ।

उनले यो कुनै ख्यालख्यालमा कुरा नगरेकाले यसको प्रकोप पनि नियन्त्रण पनि हुने हुँदा यसलाई समातेर राखेर बेच्न सकिन्छ । तर नेपालमा धेरै वन जङ्गल भएकाले जङ्गल पसे चराचुरुङगीले खाइदिन्छ । यसले बालीलाई विनाश गर्ने भए पनि समाउन सके फाइदै फाइदा हुने उनको भनाइ रहको छ ।

विश्वमा सलह नियन्त्रणमा भएका प्रयास

सलह धेरै संख्यामा र ठूलो क्षेत्रलाई ढाकेर बस्ने भएकाले हाल संसारभर प्रयोगमा आएका आईपीएम प्रविधिहरू जस्तैः जैविक विधि, खेतबारीमा परिवर्तन गरेर गरिने नियन्त्रण, आदि उपयुक्त विधिहरुको खोजी कार्य पनि तीव्र भइरहेको छ । तर, तुरुन्तै यसलाई नियन्त्रण वा काबुमा पार्नका लागि सुरक्षित विषादीको प्रयोग नै उचित मानिएको छ ।

यसलाई नियन्त्रण गर्न अफ्रिकी देशहरुले ठूला मेसिन प्रयोग गरेर नै विषादी छर्ने गरेको पाइएको छ भने कतिपय देशले हेलिकप्टरको सहायताले विषादी छर्केको पाइन्छ । केन्याले सलह नियन्त्रणका लागि २० वटा जहाज खरिद गर्ने तयारीमा रहेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हाल प्रयोगमा आएका विषादीहरूमा मालाथिएन, फेनिट्रोथियन प्रमुख छन् । यो किराको सम्भावित आगमन अगाडि नै मूल्यांकन गरी बाली बचाउनका लागि विषादी पनि छर्ने गरेको पाइएको छ । कतिपय अफ्रिकी देशले पूर्व अवलोकन गरी यदि एक वा दुईवटा सलह प्रतिवर्गमिटरमा देखिनासाथ विषादी छरेर नियन्त्रणमा लिएको पनि पाइएको छ ।

छिमेकी देश भारतमा यसको नियन्त्रणका लागि भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत स्थायी रुपमा सलहको प्रकोप एवम् नियन्त्रण पद्धति नै गठन गरी यसको निरन्तर रूपमा अनुगमन तथा नियन्त्रणमा लागेको पाइन्छ । साथै भारतको गुजरात र राजस्थान राज्यमा सलह नियन्त्रण कार्यालय नै खडा गरी यसको नियन्त्रणका विधिहरू अपनाइएको छ ।

गत वर्षको माघतिर पाकिस्तानले सलहको प्रकोपलाई नियन्त्रण गर्न राष्ट्रिय संकट घोषणा गरेको थियो । सलह नियन्त्रणका लागि चीनले पाकिस्तानलाई १ लाख हाँसहरु पठाएको समेत पाइएको थियो ।

Logo