शिक्षण संस्थाहरूको साझा संस्था इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)ले ‘स्टडी इन नेपाल’को अवधारणा ल्याएको छ ।
नेपाललाई दक्षिण एशियाकै प्रमुख शैक्षिक गन्तव्यको रुपमा विकास गर्नुपर्ने उद्देश्यसहित आइप्यानले यो अभियान अगाडि बढाएको हो । जसअन्तर्गत ‘स्टडी इन नेपाल’, ‘स्टे इन नेपाल’ ‘नेपाल मै पढौँ, नेपाल मै बसौँ’ भन्ने अभियान सन्चालन गरिनेछ । यो अभियान दक्षिण एसियाली देशहरू भारत, बांगलादेश, पाकिस्तान र भुटान दक्षिणपूर्व एसियाली देश म्यानमार र कम्बोडिया र अफ्रिकन देशहरूमा सन्चालन गरिने आइप्यानका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।
यसैबीच आइप्यानले नेपालमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिने हालका कानुनी व्यवस्थालाई परिवर्तन गरेर सम्बन्धित देशमा रहेका नियोगहरूमार्फत सहज भिसा प्रदान गराउन सरकारसँग माग गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आइप्यानको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
अध्ययन भिसा प्रदान गर्ने प्रक्रियालाई सहज बनाए उच्च शिक्षातर्फ व्यवस्थापन, सूचना–प्रविधि, मेडिसन, इञ्जिनियरिङ, होटेल म्यानेजमेन्ट, माउन्टेनेरिङ, पर्यटन, वन व्यवस्थापन, बौद्ध दर्शन, आयुर्वेद, संस्कृतलगायतका विषय र ए-लेभल तथा आईबी डिप्लोमा पनि अध्ययन गर्न विदेशी विद्यार्थी नेपाल आउने आइप्यानकाे विश्वास छ ।
के हो आइप्यानले ल्याएकाे स्टडी इन नेपालको अवधारणा ?
हाम्रो संस्था—इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)ले नेपाललाई दक्षिण एशियाकै प्रमुख शैक्षिक गन्तव्यको रुपमा विकास गर्नकालागि स्टडी इन नेपालको अवधारणा ल्याएको छ । जस अन्तर्गत देश भित्र ‘स्टडी इन नेपाल,
स्टे इन नेपाल’ ‘नेपाल मै पढौँ, नेपाल मै बसौँ’ भन्ने मूल नारासहितको आइप्यान स्टडी इन नेपाल एक्स्पाे आयोजना गर्ने । नेपालबाट हरेक वर्ष हजारौँको संख्यामा उच्च शिक्षा हासिल गर्न विदेशीने युवाहरूलाई स्वदेश मै अध्ययन गर्ने वातावरण सिर्जना गर्न नेपाली विद्यार्थीहरूका बिचमा अमेरिका, वेलायत, मलेसिया, थाईल्याण्ड, स्विजरल्याण्ड, अष्ट्रिया लगायत देशका विश्व प्रसिद्ध विश्वविद्यालयका डिग्री नेपालमै प्राप्त गर्न सकिन्छ भन्ने विषयको जानकारी गराउने ।
विदेशी विद्याथीहरूलाई अध्ययनका लागि नेपालमा ल्याउन अहिले उपयुक्त वातावरण सिर्जना भएको छ । हाम्रो देशमा धेरै पहिलेदेखि नै नेपाललाई ‘शैक्षिक हब’ बनाउने विषयमा वहस पनि हुँदै आएको छ । तर, शैक्षिक हब बनाउनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने कुराको ग्यारेन्टी गर्नु जरुरी थियो । हाल आएर नेपालमा अमेरिका, वेलायत, मलेसिया, थाईल्याण्ड, स्विजरल्याण्ड, अष्ट्रिया लगायतका देशका विश्वविद्यालयहरूको सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको संख्या ५६ पुगेको छ । नेपालमा विश्व स्तरका विश्वविद्यालयको डिग्री प्राप्त गर्ने अवसर पाउँदा विभिन्न देशबाट विद्यार्थीहरू हाम्रो देशमा अध्ययनका लागि आउन लालायितहुने हामीलाई विश्वास छ । नेपालमा आएर सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाउनुका साथ–साथै हाम्रो देशको हावा पानी, भौगोलिक सुन्दरता, समाजिक सद्भाव, कुनै पनि धर्म वा जातीका मान्छेलाई भेद्भाव नगर्ने हाम्रो संस्कार आदिको कारण पनि नेपाल विदेशी विद्यार्थीहरूको रोजाइमा पर्नेछ ।
हाम्रो संस्थाले मुलतः हाम्रो देशसँग सिमा जोडिएका भारतका विभिन्न राज्यहरूका साथै नेपालीभाषी वाहुल्य रहेका स्थानहरूमा; दक्षिण एसियाली देशहरू बाङ्गलादेश, पाकिस्तान र भुटानमा; दक्षिणपूर्व एसियाका देश म्यानमार र कम्बोडियामा र अफ्रिकन देशहरूमा ‘स्टडी इन नेपाल’ क्यामेन सञ्चालन गर्नेछ । ती देशमा सञ्चालनहुने एजुकेशन फेयरहरूमा भाग लिने छ र त्यहाँका विद्यार्थीहरूलाई अध्ययनका लागि नेपाल ल्याउने छ ।
हाम्रो देशले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया अत्यन्तै अव्यवहारिक बनाएको छ । जसका कारण उल्लेखित अवसर गुम्ने तथा हाम्रो मेहनत पनि खेर जाने अवस्था सिर्जना भएको छ । तसर्थ, नेपालमा अध्ययनका लागि आउन चाहने विद्यार्थीले सम्बन्धित देशमा रहेका हाम्रा नियोगहरूबाट वा अनलाईनबाट अध्ययन भिसा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने आवश्यकता रहेको छ । त्यसका लागि अध्यागमन नियमावली २०५१ मा आवश्यक संशोधनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने ।
अध्ययन भिसा प्रदान गर्ने प्रक्रियालाई सहज बनाए उच्च शिक्षा तर्फ—व्यवस्थापन, सूचना–प्रविधि, मेडिसन, इञ्जिनियरिङ, होटेल म्यानेजमेन्ट, माउन्टेनेरिङ्ग, पर्यटन, वन व्यवस्थापन, बौद्ध दर्शन, आयुर्वेदा, संस्कृतलगायतका विषय र ए—लेभल तथा आईबी डिप्लोमा पनि अध्ययन गर्न विदेशी विद्यार्थीहरू नेपाल आउने छन् । सुरुवाती दिनमा सानो संख्यामा अध्ययनका लागि विदेशी विद्यार्थी अध्ययनका लागि हाम्रो देशमा आए पनि क्रमशः नेपाललाई दक्षिण एशियाकै शैक्षिक हबका रुपमा स्थापित गर्न सकिन्छ ।
विदेशी विद्यार्थी अध्ययनका लागि नेपालमा आउँदा पर्ने सकारात्मक प्रभावहरू
विदेशी विद्यार्थी अध्ययनका लागि नेपालमा आउँदा नेपालको अर्थतन्त्रमा त प्रत्यक्ष प्रभाव पार्छ नै त्यो भन्दा पनि सकारात्मक प्रभाव नेपाली युवाहरूमा पर्छ । विदेशी विद्यार्थी अध्ययनका लागि नेपालमा आउँछन् हामी किन विदेश जाने भन्ने मनोभावनाको विकास हुनेछ । जुन विषय नेपालको विकास र समृद्धिको लागि एउटा टर्निङ प्वाइन्टहुन सक्छ । त्यसका साथ साथै पर्यटनको विकास र विस्तार र देशको अन्तर्राष्ट्रिय छविमा पनि सकारात्मक प्रभाव पर्नेछ । यसका साथै अन्य सकारात्मक प्रभावहरूलाई निम्नानुसार लिपिवद्ध गर्न सकिन्छ ।
– नेपालका शिक्षण संस्थाहरुले भोगिरहेको विद्यार्थीको समस्या समाधान हुनेछ ।
– शिक्षाको लागि रहेका वर्ष अरबौँ रूपैयाँ विदेशी रहेको परिप्रेक्षमा विदेशबाट शिक्षाका लागि नै रकम भित्रिने छ र क्रमशः बाहिरिने भन्दा भित्रिने रकम बढ्ने छ । विदेशी मुद्रा आर्जन गर्ने एउटा महत्वपूर्ण सेक्टर हुनेछ ।
– राज्यको शुन्य लगानीमा नेपालको पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार हुनेछ । पर्यटन क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्ने छ ।
– उर्जावान तथा उत्पादनशील युवा जनशक्तिको पलायन रोकिनुका साथ–साथै हरेक वर्ष देशबाट बाहिरिने अरबौँको रकम समेत विदेशिनबाट रोकिने छ ।
– पारिवारिक, समाजिक तथा आर्थिक समस्याका कारण हामीहरूले भोगिरहेका समस्याहरूको समानधान हुनेछ ।
– नेपालको श्रम बजारले सामना गरिरहेको श्रमशक्तिको अभावको अन्त्य हुनेछ । उद्योग व्यवसायको विस्तार, उत्पादनमा वृद्धि तथा रोजगारीको सिर्जना हुनेछ ।
– नवयुवाहरूले नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप इकोसिस्टमको विकास र विस्तारमा सकारात्मक योगदान गर्ने छन् ।
अध्ययन भिसा प्रदान गर्ने हालको कानुनी व्यवस्थाः
अध्यागमन नियमावली, २०५१ (पाँचौ संशोधन, २०६४) को नियम ७ मा नेपालको कुनै शिक्षण संस्थामा अध्ययन, अध्यापन वा अनुसन्धान गर्न आउने विदेशीहरू, तिनका परिवारलाई अध्ययन भिसा दिने व्यवस्था छ । अध्ययन भिसाका लागि तपशिलका प्रक्रियाहरू पुरा गर्नुपर्छ ।
– नेपालका शिक्षण संस्थामा अध्ययन गर्न चाहने (भारत बाहेकका) व्यक्तिले सर्व प्रथम नेपालको प्रवेश विन्दुमा आएर अध्यागमन कार्यालयबाट पर्यटक भिसा लिनुपर्छ ।
– पर्यटक भिसामा नेपाल प्रवेश गरे पश्चात नेपालका शिक्षण संस्थामा अध्ययन गर्न चाहने विदेशी नागरिकले एक वर्षको शुल्क बुझाएर भर्ना गर्ने ।
– भर्ना भएको रसिद र सम्बन्धित शिक्षण संस्थाको सिफारिससहित अध्ययन भिसा सिफारिसका लागि शिक्षा मन्त्रालयमा निवेदन दिने ।
– जुन देशको विद्यार्थी हो सोही देशको सरकारबाट विदेश अध्ययन गर्नको लागि जारी भएको एनओसी लेटरसमेत पेश गर्नुपर्ने ।
– सार्क राष्ट्र बाहेकका देशबाट अध्ययनका लागि नेपाल आउने व्यक्तिले वार्षिक न्यूनतम तीन हजार अमेरिकी डलर, निजका परिवारको हकमा दुई हजार अमेरिकी डलर वा सो वरावरको नेपाली मुद्रा खर्च गर्न सक्ने आधिकारिक स्रोत वा सो बराबरको नेपाली मुद्रा स्थानीय बैंकमा मौज्दात रहेको कागजात पेश गर्नुपर्ने ।
– विद्यार्थीको बायोडाटा, पासपोर्ट, जुन तहको अध्ययन गर्ने हो त्यो भन्दा तल्लोतहको अध्ययन पुरा गरेका शैक्षिक प्रमाणहरूको प्रमाणित प्रतिलिपिहरूसहित अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्दछ ।
– उपरोक्त प्रक्रिया पुरा गरे पछि अध्यागमन विभागका महानिर्देशकले प्राविधिक विषयमा बाहेक एक पटकमा एक वर्षका लागि अध्ययन भिसा प्रदान गर्ने ।
अध्ययन भिसा सहज प्रदान गर्न मिलाउनुपर्ने कानुनी व्यवस्थाः
– अध्यागमन नियमावली, २०५१ लाई संशोधन गरेर विदेश स्थित नेपाली नियोगबाट नै अन्तराष्ट्रिय विद्यार्थी भर्नाका लागि अनुमति प्राप्त शिक्षण संस्थामा भर्ना भए पश्चात सम्बन्धित शिक्षण संस्थाको सिफारिसमा आवश्यक प्रक्रिया पुरा गरेर अध्ययन भिसा दिने व्यवस्था गर्ने, वा
– उल्लेखित प्रक्रिया पुरा गरे पश्चात अनलाईन आवेदन लिएर अनलाईनबाटै अध्ययनका लागि ई–भिसा प्रदान गर्ने ।
– प्राविधिक विषयमा बाहेक एक पटकमा एक वर्षका लागि अध्ययन भिसा प्रदान गर्ने व्यवस्थालाई परिवर्तन गरेर सबै विषयमा अध्ययन (शैक्षिक उपाधि) अवधिसम्मको लागि भिसा दिने कानुनी व्यवस्था गर्ने ।
– अध्ययन भिसा शुल्क प्रति वर्ष एक सय अमेरिकी डलर छ । सकेसम्म निःशुल्क अध्ययन भिसा दिने व्यवस्था गर्ने वा त्यसो गर्न नसक्दा भिसा शुल्क घटाएर अध्ययन अवधि (शैक्षिक उपाधि)का लागि नै एक सय अमेरिकी डलर बनाउने ।
– अध्यागमन नियमावली, २०५१ (पाँचौ संशोधन, २०६४) को नियम ७ को उपनियम १ मा नेपालको कुनै शिक्षण संस्थामा अध्ययन, अध्यापन वा अनुसन्धान गर्न आउने विदेशीहरू, तिनका परिवारलाई अध्ययन भिसा दिइने छ भन्ने व्यवस्था भए पनि व्यवहारमा नेपालमा अध्यापन गर्न आउने विदेशीहरू, तिनका परिवारलाई भिसा दिने प्रक्रिया अत्यन्तै झन्झटिलो छ यसलाई सहज बनाई सम्बन्धित शिक्षण संस्थाको सिफारिसमा (एकद्वारा प्रणालीबाट) भिसादिने व्यवस्था गर्ने ।
प्रतिक्रिया