सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्षमा युवा व्यवसायी प्रवल जङ्ग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न बैंकको १७ औं वार्षिक साधारण सभा सञ्चालक समितिको बैठकले सञ्चालक प्रवल जङ्ग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।
पाण्डले यसअघि बैंकको सञ्चालक पदमा रही काम गरिसकेका छन् । उनि मर्जर तथा एक्वीजिशन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो ।
बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्। अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता जनाएका छन्। उनले बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्ने र सेवा बिस्तार गर्ने बताए।
यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए। त्यसअघि शंकर शर्मा अध्यक्ष भएका थिए। उत्पादनमूलक उद्योगबाट देशको आर्थिक विकास हुन्छ भन्ने पाण्डेलाई लाग्छ। उनी कसमस सिमेन्टका निर्देशक पनि हुन्। इस्टन कसमसमा पनि उनी निर्देशक छन्। लोमस फर्मास्यूटिकल्समा सञ्चालक रहेका पाण्डे निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आवद्ध छन्। बैंक तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको सम्पूर्ण डाटा यहाँ राखिन्छ।
त्यस्तै, १७ औं वार्षिक साधारण सभाबाट सीता कार्की (के. सी.), सजन शर्मा, दिग्विजय विष्ट, सञ्चालक समितिको सदस्यमा निर्वाचित छन् । बैंकमा ७ जना सञ्चालक रहेकोमा सर्वसाधारणहरुको तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली रहेका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको दावी गर्ने गरेकाे छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।































प्रतिक्रिया