ललितपुर महानगरले १० वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने

ललितपुर महानगरले १० वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि चार अर्ब उनासी करोड १५ लाख बैसठ्ठी हजार पाँच सय पन्ध्र रुपैयाँको बजेट प्रस्ताव गरेको छ । ललितपुर महानगरपालिकाको पाँचौ नगरसभामा बुधबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

महानगरका प्रमुख महर्जनले आर्थिक वर्ष २०७७/७८को नीति समेत प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने नीति लिएको बताए । उनले घरेलु तथा साना उद्योगहरुलाई समेत प्राथमिकतामा राखेर नीति तयार गरेको स्पष्ट पार्दै त्यसै अनुसारको कार्यक्रम ल्याउने स्पष्ट पारे ।

उनले महानगरपालिको जन अपेक्षा अनुसार काम गर्न चुनौती भोगिरहेको अवस्थामा कोभिडले त्यो चुनौती थपिदिएको बताए । उनले कोभिडसँग भाग्ने नभई सर्तक भएर कोरोना जित्न नगरवासीको सहयोग महत्वपूर्ण भएको स्पष्ट पारे । प्रस्तुत नीतिमा उल्लेख भए अनुसार महानगरको वडा नं १८, २१, २२, २३, २४, २५,२६, २७, २८, २९ लाई कृषि पकेट एरिया घोषणा गर्ने उल्लेख गरिएको छ ।

महानगरमा २९ वडा रहेका छन् । कोभिडका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै यस अघि नै महानगरपालिकाले मल तथा तरकारीको बीउ विजन वडावासीलाई अनुदान दिएको थियो । यी वडाहरुमा महानगरको अन्य वडाहरुमा भन्दा खुल्ला र खेती योग्य ठाउँ धेरै छन् । त्यसैगरी घरभएका जमिन नभएका वडावासीहरुलाई कौसी खेतीको लागि प्रोत्साहित गरिएको बताउँदै यसलाई निरन्तरता दिने प्रमुख महर्जनले बताए ।

यसैगरी एभोकाडो, ड्रयागन फुड, र किवी लगायत फलफूल खेती गर्न प्रोत्साहित गर्ने नीतिमा उल्लेख छ । यसैगरी महानगरपालिकाभित्र फलफूल तथा तरकारी बजारिकरणमा प्रबद्र्धन गर्न चिस्यान केन्द्र स्थापना गर्ने नीति नगरसभामा प्रस्तुत गरिएको छ । यसैगरी कोभिड विशेष नीति अन्तर्गत महानगरपालिकाको आवश्यकता अनुसार होल्डिङ सेन्टर निर्माण गर्ने जनाइएको छ ।

यसैगरी कोभिडको असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्श, मेलमिलाप सचेतना कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ । यसैगरी कोभिड हब अस्पतालको रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने जनाइएको छ । यसैगरी आपतकालिन स्वास्थ्य, विपद व्यवस्थापन,कोभिड १९ तथा अन्य संभावित महामारी रोग नियन्त्रण सम्बन्धी कार्य योजना तयार गरी कार्यान्वयन गर्ने प्रस्तुत नीतिमा उल्लेख छ ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले कोभिडका कारण भएको बन्दाबन्दीले चालू आर्थिक वर्षका योजना कार्यान्वयनमा समेत गम्भीर असर परेको बताए । कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख गीता सत्याल र प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराईले पनि मन्तव्य राखेका थिए ।

Logo