२०७२ वैशाख १२ गते गएको विनासकारी भुकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरस रोकथाम तथा निर्यन्त्रणको लागी सरकारले लगाएको लकडाउनका बेला पनि रानीपोखरी पुनःनिर्माणको काम भइरहेको छ ।
पोखरीमा माटो तथा इटा बिछ्याउने काम पुरा भएर पोखरी वरिपरि पर्खाल लगाउने काम गरी करिव ८० प्रतिशत काम पुरा भएको रानीपोखरी पुनःनिर्माण विज्ञ राजुमान मानन्धरले बताए ।
उनका अनुसार मुलुक लकडाउनमा रहेता पनि रानीपोखरी निर्माणको काम स्वास्थ्य सुरक्षासहित सामाजिक दुरी कायम गरेर उपलब्ध मजदुरहरुले निरन्तर काम भइरहेको छ ।
भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण उपभोक्ता समिती मार्फत राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम गरिरहेको छ । तर पहिला काठमाडौ महानगरपालिका तथा पुरातत्व विभागले बनाउने गरी सुरु गरिएको थियो ।
२०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणका लागि शिल्यान्यास गरेकी थिइन । २०७३ मा वैशाखमा कात्तिकसम्म निर्माण सक्ने गरी ६ करोड २९ लाखमा पोखरीको पुनः निर्माणको ठेक्का भएको थियो । त्यस्तै पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणका लागि १ करोड ४० लाख २८ हजारमा ठेक्का भएको थियो । तर अहिले पोखरी तथा बालगोपालेश्वर मन्दिर सहित करिव १५ करोडको लागतमा ठेक्का भएर काम भइरहेको छ ।
अहिले रानीपोखरी निर्माणमा कुनै पनि विवाद रहित भएर पोखरी तथा पोखरी बिचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको कामप्रताप मल्लकालिन शैलीमै मन्दिरको निर्माण भइरहेको विज्ञ मान्नधरले जानकारी दिए ।
प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन वि.सं. १७२७ मा दुई वर्ष लगाएर रानीपोखरीको निर्माण भएको हो । २०७२ वैशाख १२ को भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएको थियो । त्यसअघि पनि १९९० को माघ २ गते गएको भूकम्पले रानी पोखरी भत्किएको थियो ।
पोखरी निर्माणका लागि भक्तपुरका कालिगढ र कामदार खटिएका छन् । कामदार सबै महिला छन् ।
कसरी आउँछ इनारबाट पानी ?
रानीपोखरीमा आकाशे पानी तथा टुँडिखेलमा रहेको इनारबाट पानी लगिने छ । मानन्धरका अनुसार पोखरीको सतहभन्दा तल बग्ने पानीलाई कालो माटोले थुनिन्छ । माटोले थुनेको छेउमा इनार खनिन्छ । कालो माटोले थुनेपछि पानी माथितिर जान्छ । अनि पोखरी भरिन्छ ।































प्रतिक्रिया